सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गरेको अभियोगमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।
थापाले आफू काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक भएकोले उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भन्दै अछाम चौरपाटी गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका- १३ कुसुन्ती बस्ने नरेन्द्र कुमार भुललाई ऋणको १० प्रतिशत र सेवा शुल्क बापत १२ हजार लिएर फरार भएका थिए ।
थापाले भुलबाट ऋण १० प्रतिशतले हुन आउने ३ लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ गरी जम्मा ३ लाख १२ हजार रूपैयाँ लिएर फरार भएका थिए । भुलले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आफू ठगिएको भन्दै उजुरी दिएपछि अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएको छ ।
मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट असोज ३१ गते पक्राउ गरिएको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।