एक नाबालिगलाई जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई तेस्रोपटक म्याद थप गरिएको छ ।
२० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन थपिएकोमा आज पुन: चार दिनको लागि म्याद थप गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले जनाए ।
सन्दीपलाई कात्तिक १ गते नै अदालतमा उपस्थित गराउनुपर्ने भएतापनि सो दिन सार्वजनिक बिदा भएको कारण प्रहरीले आज अदालत उपस्थित गराएको थियो ।
कात्तिक ४ गतेसम्म अदालतले सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । पाँच गते शनिबार भएको हुनाले उनलाई कात्तिक ६ गते आइतबार मात्र अदालतमा उपस्थित गराइनेछ ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगले आफूमाथि लामिछानेले पटक पटक जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दिँदा उनी पूर्वनिर्धारित तालिकाअनुसार क्यारेबियन प्रिमियर लिंग खेल्नको लागि वेस्ट इन्डिज पुगेका थिए ।
जाहेरी परेपछि करिव एक महिना सम्पर्कबिहीन भएका सन्दीप विजया दशमीको भोलिपल्ट अमेरिकाबाट नेपाल आएका थिए । योबीचमा केही सञ्चारमाध्यममा सन्दीप सिंगापुर र दुबई रहेको खबर आएतापनि ती खबरहरू अपुष्ट सावित भइसकेका छन् ।
असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएका सन्दीपलाई प्रहरीले बढीमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।