दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरासतमा रहनुपर्नेछ ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगले आफूमाथि लामिछानेले पटक पटक जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दिँदा उनी पूर्वनिर्धारित तालिकाअनुसार क्यारेबियन प्रिमियर लिंग खेल्नको लागि वेस्ट इन्डिज पुगेका थिए ।
जाहेरी परेपछि करिव एक महिना सम्पर्कबिहीन भएका सन्दीप विजया दशमीको भोलिपल्ट अमेरिकाबाट नेपाल आएका थिए । योबीचमा केही सञ्चारमाध्यममा सन्दीप सिंगापुर र दुबई रहेको खबर आएतापनि ती खबरहरू अपुष्ट सावित भइसकेका छन् ।
पछिल्लो समय सन्दीपविरुद्ध उजुरी दिने नाबालिगको उमेरको विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । क्यान अध्यक्ष चतुर बहादुर चन्दले एक राष्ट्रिय टेलिभिजनबाट पीडित भनिएकी किशोरी बालिग भएको र सो अनुसारको सरकारी कागजात पनि फेला परेको बताइसकेपछि उमेरको विषयमा बहस सुरु भएको हो ।
त्यसलगतै सन्दीपको मुद्दा हेरी भनिएकी अधिवक्ता सुधा रिजालले सञ्चारमाध्यमहरूसँग किशोरीको दुईवटा जन्मदर्ता भएको र उनी १८ वर्ष भन्दा माथि रहेको प्रमाण आफूहरूसँग रहेको बताएपछि यो विषयले झनै चर्चा पाएको हो ।
असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएका सन्दीपलाई प्रहरीले बढीमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।