नेपाली राष्ट्रिय क्रिकेट टीमबाट निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज म्याद थपको लागि काठमाडौं जिल्ला अदालत लगिने भएको छ ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको हो । यसअगाडि सात दिन थपिएको म्याद आजबाट सकिदैँछ ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगले आफूमाथि लामिछानेले पटक पटक जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दिँदा उनी पूर्वनिर्धारित तालिकाअनुसार क्यारेबियन प्रिमियर लिंग खेल्नको लागि वेस्ट इन्डिज पुगेका थिए ।
जाहेरी परेपछि करिव एक महिना सम्पर्कबिहीन भएका सन्दीप विजया दशमीको भोलिपल्ट अमेरिकाबाट नेपाल आएका थिए । योबीचमा केही सञ्चारमाध्यममा सन्दीप सिंगापुर र दुबई रहेको खबर आएतापनि ती खबरहरू अपुष्ट सावित भइसकेका छन् ।
पछिल्लो समय सन्दीपविरुद्ध उजुरी दिने नाबालिगको उमेरको विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । क्यान अध्यक्ष चतुर बहादुर चन्दले एक राष्ट्रिय टेलिभिजनबाट पीडित भनिएकी किशोरी बालिग भएको र सो अनुसारको सरकारी कागजात पनि फेला परेको बताइसकेपछि उमेरको विषयमा बहस सुरु भएको हो ।
त्यसलगतै सन्दीपको मुद्दा हेरी भनिएकी अधिवक्ता सुधा रिजालले सञ्चारमाध्यमहरूसँग किशोरीको दुईवटा जन्मदर्ता भएको र उनी १८ वर्ष भन्दा माथि रहेको प्रमाण आफूहरूसँग रहेको बताएपछि यो विषयले झनै चर्चा पाएको हो ।
असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएका सन्दीपलाई प्रहरीले बढीमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।