आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी दलहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले अन्य दलहरूको सङ्ख्यामा महिलाहरूलाई अवसर दिएको छ ।
स्थानीय तह प्रमुख पदमा ६.९८ प्रतिशत महिलाहरू सहभागी गराएको एमालेले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनमा ८.३३ प्रतिशत महिलालाई स्थान दिएको छ । स्वतन्त्र रूपमा ८३ जना महिला उम्मेदवारले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुनको लागि मनोनयन दर्ता गराउँदा प्रमुख प्रतिपक्ष दल एमालेले १२ जना महिला नेतृहरूलाई निर्वाचनमा सहभागी गराएको हो ।
सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरी, उदयपुर-१ बाट मन्जु कुमारी चौधरी, धनुषा-३ बाट जुली कुमारी महतो (महासेठ), बारा-३ बाट ज्वाला कुमारी साह, कास्की-२ बाट विधा भट्टराई, स्याङ्जा-२ बाट पद्मा कुमारी अर्याल, बागलुङ-२ बाट मन्जु शर्मा, दाङ-१ बाट शान्ता चौधरी, दाङ-२ बाट कोमल वली, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट सिन्धु जलेसा बुढाथोकी, डोटी-१ बाट गौरी कुमारी ओली र कञ्चनपुर-३ बाट निरु देवी पाललाई एमालेले उम्मेदवारको रूपमा खडा गरेको हो ।
भगवती चौधरी
सुनसरी क्षेत्र नम्बर-३ बाट निर्वाचनमा सहभागी भएकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । पूर्व राज्यमन्त्री समेत रहेकी चौधरी तेस्रोपटक विजयकुमार गच्छदारसँग चुनावी प्रतिस्पर्धा गर्दै छिन् ।
उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको सङ्घीय निर्वाचनमा विजयकुमार गच्छदारसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । चौधरीले दुई पटकको हारलाई यस पटक जितमा परिणत गर्ने तयारीका साथ निर्वाचनमा सहभागी हुन लागेको केटिएम दैनिकसँग बताइन् ।
तर सत्ता गठबन्धनको साथ र समर्थन पाएका गच्छदारले यो आफ्नो अन्तिम निर्वाचन भएको हुँदा आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।
मन्जु कुमारी चौधरी
नेकपा एमालेकी केन्द्रीय सदस्य मन्जु कुमारी चौधरी यस पटक पनि परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दै छिन् ।
२०७४ को सङ्घीय निर्वाचनमा त्यस क्षेत्रबाट डा. नारायण खड्का ३३,१४२ मतका साथ निर्वाचित हुँदा दोस्रो स्थानमा रहेकी चौधरीले ३२,५९४ मत ल्याएकी थिइन् । खड्का ५४८ मतान्तरले विजयी भएका थिए ।
सत्ता गठबन्धनका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धामा होमिएकी चौधरीले अघिल्लो पटकको पराजयबाट पाठ सिक्दै यस पटक विजयी हुनेमा ढुक्क रहेको बताइन् ।
जुली कुमारी महतो (महासेठ)
धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी जुली कुमारी महतो (महासेठ) पूर्व मन्त्री समेत हुन् । २०७४ सालको निर्वाचनमा महतो नेकपा एमालेको समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएकी थिइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेकी महतोले यस पटकको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिल कुमार झा सँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
उक्त निर्वाचनमा क्षेत्रबाट २१ जना स्वतन्त्र र महतोसहित १० जना विभिन्न दलबाट चुनावमा सहभागी हुनको लागि मनोनयन दर्ता गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
ज्वाला कुमारी साह
बाराको क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट पाएकी ज्वाला कुमारी साह उक्त पार्टीको पोलिटब्युरो सदस्य हुन् । साह ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो बाटो हिँड्न फैसला गरेपछि साह एमालेमा लागेकी थिइन् ।
माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेशसभा सदस्य पद गएको थियो ।त्यसको केही समय पछि उनले सङ्घीय सरकारको मन्त्री बनेकी थिइन् । पूर्व मन्त्री समेत रहेकी साहले उम्मेदवारी दिएको निर्वाचनमा क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवारसहित १४ विभिन्न राजनैतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
मधेस प्रदेशका विभिन्न क्षेत्रमा नेकपा एमाले र जसपाले चुनावी तालमेल गरेको भएता पनि उक्त निर्वाचन क्षेत्रमा जसपाका रामबाबु कुमार यादवको उम्मेदवारी परेको छ ।
विधा भट्टराई
निवर्तमान सांसद विधा भट्टराई कास्की क्षेत्र नम्बर २ बाट चुनावमा सहभागी हुँदै छिन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचनमा दिवगत अधिकारी पत्नी भट्टराई भारी मतान्तरका साथ प्रतिनिधिसभा निर्वाचित भएकी थिइन् ।
केही समयअगाडि प्रतिनिधि सभाको उपसभामुख पदमा समेत उम्मेदवारी दिएकी भट्टराईले मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजी प्रसाद बराल सहित अन्य १६ जना उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
पद्मा कुमारी अर्याल
पूर्व मन्त्री समेत रहेकी एमाले पोलिटब्युरो सदस्य पद्मा कुमारी अर्याल २०७४ सालको सङ्घीय निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका पाँच (उपनिर्वाचन बाहेक) जना महिला सांसदमध्ये एक हुन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएर संविधानसभा सदस्य भएकी अर्यालले २०७४ को निर्वाचनमा स्याङ्जा-२ मा नेपाली काँग्रेसका गोपालमान श्रेष्ठलाई तीन हजार ७०६ मतान्तरले पराजित गरेकी थिइन् । अर्याल ३५,१४२ मतका साथ सांसद निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका श्रेष्ठले ३१,४३६ मत पाएका थिए ।
अहिले अर्यालले सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङसँग तीव्र प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । उक्त निर्वाचन क्षेत्रमा चार स्वतन्त्रसहित १३ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले मङ्गलवार साँझ प्रकाशित गरेको उम्मेदवारको नामावलीमा उल्लेख छ ।
मन्जु शर्मा
बागलुङ क्षेत्र नम्बर २ मा नेकपा एमालेले टिकट दिएको मन्जु शर्मा केही समय अगाडिसम्म नेपाली कांग्रेसमा आबद्ध थिइन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा बागलुङको गलकोट नगरपालिकाको प्रमुख पदमा कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । ३,२६२ मतसहित तेस्रो स्थानमा रहेकी शर्मा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट सांसदको रूपमा चुनाव लड्दै छिन् ।
शर्माले शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पौडेललाई सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) लगायतको साथ हुनेछ ।
शान्ता चौधरी
०५८ सालदेखि कमैया कमलहरी मुक्ति आन्दोलनमा सहभागी हुँदै २०६२ सालमा राजनीतिक दलमा आबद्ध भएकी चौधरी २०६४ सालमा संविधान सभा सदस्य थिइन् । २०७४ सालको निर्वाचनमा एमालेको समानुपातिकबाट सङ्घीय सांसद बनेकी चौधरी उक्त पार्टीको पोलिटब्युरो सदस्य समेत हुन् ।
दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी चौधरीलाई यसअगाडि एमालेमै रहेकी तर हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी गंगा चौधरी (सत्गौवा) भारी पर्ने देखिन्छ । हुनत निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरिसकेको छैन गंगा चौधरीले आफ्नो उम्मेदवारी फिर्ता नलिएको खण्डमा सो क्षेत्रमा कडा टक्कर हुने अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट सहरी विकास मन्त्रीसमेत रहेका मेटमणी चौधरीले उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका चौधरीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको साथ छ ।
२०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन बाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरी भारी मतान्तरका साथ निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसकी शुशिला चौधरीलाई पराजित गरेका हुन् । यस क्षेत्रमा एक स्वतन्त्रसहित १२ जना निर्वाचनमा सहभागी हुनको लागि मनोनयन दर्ता गरेका छन् । चौधरीहरूको बाहुल्यता रहेको यस क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएका तीनसहित पाँच जना चौधरी थरकै छन् ।
कोमल वली
लोक गायिका तथा सञ्चारकर्मीको रूपमा परिचय कमाएकी कोमल वली २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएपछि उनको परिचय फेरियो । २०७४ सालमा निर्वाचित भएर गोला प्रथाबाट चार वर्षे कार्यकालमा बिताइसकेकी वली एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा भइन् ।
तिनै वलीले अहिले दाङ क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएकी छन् । गायिकाबाट सञ्चारकर्मी र राष्ट्रिय सभा सदस्य हुँदै प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन लड्दै गरेकी वलीले सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपक गिरीसँग तीव्र प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उक्त निर्वाचन क्षेत्रबाट ६ जना स्वतन्त्र र ११ जना विभिन्न राजनैतिक दल गरी कूल १७ जना चुनावी प्रतिस्पर्धामा छन् ।
सिन्धु जलेसा बुढाथोकी
लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा एमालेबाट निर्वाचनमा सहभागी हुँदै गरेकी सिन्धु जलेसा बुढाथोकी २०७० सालको संविधान सभा सदस्य समेत थिइन् ।
बुढाथोकीले नेपालका एक मात्र डलर अरबपति भनेर चिनिने विनोद कुमार चौधरीसँग र जनता प्रगतिशील पार्टी, नेपालका हृदयेश त्रिपाठीसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका चौधरीलाई सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन छ ।
गौरी कुमारी ओली
डोटी मा सत्ता गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका प्रेम आलेको प्रतिस्पर्धीको रूपमा एमालेले डोटी इन्चार्ज रहेकी गौरी कुमारी ओलीलाई चुनावमा उठाएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र दुई स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
एमालेको केन्द्रीय सदस्य समेत रहेको ओली २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।
निरु देवी पाल
निवर्तमान सांसद निरु देवी पाल कञ्चनपुर क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएकी छन् ।
२०७४ सालमा एमालेबाट समानुपातिक सांसद भइसकेकी एमाले पोलिटब्युरो सदस्य पालले सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रमेश लेखकसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
उक्त क्षेत्रमा पाँच स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।