राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउने भएको छ ।
चारदिन अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भएतापनि दसैँ बिदा भएको कारण आजमात्रै अदालत उपस्थित गराइने भएको छ । प्रहरीले आज सन्दीपको म्याद थप गर्नेछ ।
भदौ ५ गते एक नाबालिकालाई पटकपटक जबरजस्ती करणी गरेको भन्दै ती नाबालिकाले भदौ २१ गते प्रहरी वृत गौशालामा उजुरी दिएकी थिइन् ।
उनको उजुरीपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी हुँदा उनी पूर्व निर्धारित कार्यक्रमअनुसार क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए ।
जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्य सम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
त्यसपछी लगत्तै नेपाल आउने बताएका सन्दीप करिव एक महिना सम्पर्कबिहीन भएर बसेका थिए । नेपाल प्रहरीले इन्टरपोलमार्फत सन्दीपलाई नेपाल झिकाउने तयारी गरिरहँदा उनी दसैँको भोलिपल्ट नेपाल आइपुगेका हुन् ।
अब प्रहरीले सन्दीपविरुद्ध परेको उजुरीमा प्रतिवेदन बनाएर सरकारी वकीलसमक्ष प्रतिवेदन बुझाउँछ त्यसपछि मात्र अदालतमा बहस सुरु हुन्छ ।