नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताएका छन् ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उनको भनाइ थियो । अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गरेका ओलीले भने, “एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्दैन, जनताले थाहा पाइसकेका छन् ।”
उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
झापाका १, २, ४ र ५ मा एमालेलाई राप्रपाले सघाउने र क्षेत्र नम्बर ३ मा राप्रपालाई एमालेले सघाउने सहमति भएको छ । क्षेत्र नम्बर ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराका छन् ।