नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुदाँ सिरहा–५ बाट बिजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा–२ बाट उम्मेदवार हुन लागेको हुन् ।
बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ वाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो ।
केहीले चितवन-३ मा प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेकोले सुरक्षित स्थानको खोजी गर्दै पार्टीले उनलाई गोरखा-२ मा उम्मेदवार बनाएको टिप्पणी समेत गरेका छन् ।
यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भएको माओवादीका एक नेताले बताए ।
माओवादी अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् ।