काठमाडौं- फुटबलर लियोनल मेसीले कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। एक अन्तरवार्तामा उनले यस्तो बताएका हुन्। ‘यो विश्वकप तपाईंको अन्तिम विश्वकप हुनसक्छ?’ उनलाई प्रश्न गरिएको थियो। उत्तरमा उनले भने, ‘अवश्य, यो अन्तिम हुनेछ।’
३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् । मेसी अर्को विश्वकपसम्म आइपुग्दा ३९ वर्षका हुनेछन्। अहिले आफूले शारीरिक रुपमा निकै राम्रो महशुस गरिरहेको उनले बताएका छन्।
सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो । ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो,’ ईएसपीएनसँग कुराकानी गर्दै उनले भने, ‘म विश्वकप आउने दिन गन्दै बसिरहेको छु । यहाँ उत्साह र चिन्ता दुवै छ । प्रतियोगिता कस्तो हुने हो ? कसरी अगाडि बढ्ने हो ?’
सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे यता उनले टोलीका लागि १६४ खेलमा ९० गोल गरेका छन् । पाँचौँ विश्वकपमा भाग लिँदै गर्दा उनले डिएगो म्याराडोना र ह्याभिएर मास्चेरानोको कीर्तिमानलाई उछिन्नेछन् । फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ ।
लामो समय बार्सिलोनाका लागि खेलेका उनी अहिले पेरिस सेन्ट जर्मन (पीएसजी)मा छन्। बार्सिलोनाका लागि उनले ४७४ गोल गरेका छन् भने पीएसजीका लागि ११ गोल गरेका छन्।