बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् ।
कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
नेपाल झर्नेबित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् ।
उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् ।
आरोपित लामिछानेले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए ।
उनले आफ्नो सुरक्षाका लागि घिमिरेलाई उपस्थित गराइदिन फेसबुक स्टाटसमा पनि अनुरोध गरेका छन् ।
एक १७ वर्षीया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।