नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् ।
आइतबार काठमाडौमा माक्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक गोष्ठिमा बोल्दै उनले वर्तमान शासन र निर्वाचन प्रणाली बदल्न निर्वाचनपछि सडकमा जाने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले भने, ‘चुनाव पछि म यो प्रणाली बदल्नको निम्ति सडकमा जान्छु । सडकबाट मात्रै हामीले समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो । त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरि म यो मेसनरी बदल्नका निम्ति, यो निर्वाचन र शासन मेसनरी बदल्नका निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।’
उनले समाजवादको बनिबनाऊ मोडल नहुने भन्दै त्यसलाई समय र बदलिदो परिस्थितिअनुसार समाज र आन्दोलनका यात्रीहरुले अनुसन्धान गर्ने र त्यही अनुसार व्यवहारमा लागू गर्नुपर्ने बताए ।
प्रचण्डले थपे, ‘समाजवादको बनिबनाउ मोडल सदाकालका निम्ती केही पनि हुने गर्दैन । हुने गरेको छैन । त्यो मोडेल बदलिदो परिस्थिति अनुसार समाज र आन्दोलनका यात्रीहरुले अनुसन्धान गर्नुपर्ने विषय हो, अनुसन्धान गर्दा समाजवादको मार्गचित्र कस्तो हुन्छ कुन देशमा कतिबेला ? भन्ने कुरा समकालीन परिस्थितिको आंकलन, शक्ति सन्तुलन उत्पादक शक्ति र उत्पादन सम्बन्धको स्थिति विज्ञान प्रविधिको विकासको स्थितिको कुल योगफलबाट प्रस्ट वैचारिक राजनीतिक मार्गचित्र विना समाजवादको नयाँ मार्गचित्र बन्नै सक्दैन ।’
निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उनको भनाई थियो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए ।
अध्यक्ष दाहालले संसद विघटन हुँदा भएको सडक आन्दोलनकै कारण त्यसको पुनस्र्थापना गर्न आफूहरु बाध्य भएको भनेर निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्विकार गरेको स्मरण गराउँदै आफूहरु सोही आन्दोलनकै बाटोबाट अघि बढने पटकपटक दोहोर्याए ।