अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
चितवन भरतपुर महानगरपालिका-२१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट पक्राउ गरेको हो ।
अधिकारीले टिका विश्वकर्मा नाम गरेका व्यक्तिलाई वर्किङ भिषामा अफगानिस्तान लगिदिने भन्दै आठ लाख रुपैयाँ लिएर फरार भएका थिए । विश्वकर्माले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले खोजिदिन प्रहरीलाई पत्र लेखेको थियो ।
विभागको पत्र पाएपछि प्रहरीलाई अधिकारीलाई पक्राउ गरेर अनुसन्धान तथा कारवाहीको लागि विभागको कार्यालय बुद्धनगर पठाइएको एसपी कृष्ण प्रसाद कोइरालाले बताए ।