महिला तथा बालिकाहरूको अश्लिल तस्बिर र भिडिओ बनाएर सार्वजनिक गरिदिन्छू भन्दै धम्की दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरोले उक्त कार्यमा संलग्न एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एसपी पशुपति कुमार रायका अनुसार हाल काठमाडौंको बौद्ध बस्ने भारतीय नागरिक मोहम्मद रमीज राजा र सोही स्थानमा बस्ने जेम्स तामालाई पक्राउ गरिएको हो । तामाङ ताप्लेजुङको फुङलीङ नगरपालिका- ४ का स्थायी बासिन्दा हुन् ।
भारतीय नागरिक राजाले भाइबर मार्फत नाबालिकासंग अडियो सम्वाद गर्ने र पीडितको तस्वीर ईडिट गरी बनाएको अश्लिल भिडियो नाबालिकाको भाइबरमा पठाई डर धाक धम्की दिने गरेका थिए ।
नाजायज फाईदा लिन खोज्ने र आफ्नो उद्देश पुरा नहुने भए सो भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी दिन्छु भनि पीडितलाई मानसिक यातना दिने गरेको एसपी रायले बताए ।
त्यस्तै तामाङले इन्स्टाग्राम तथा विगोमा साथी बनाई सम्वाद गर्ने क्रममा विभिन्न लोभ लालच देखाई पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न बाध्य पार्ने गर्दथे ।
उनले ती महिलाहरूको भिडियो प्रयोग गरी उनीहरूलाई धम्की दिने ब्ल्याकमेल गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसान्धानमा देखिएको छ ।
साइबर ब्यूरोबाट खटिएको प्रहरीले भारतीय नागरिकलाई सोमबार र तामाङलाई मंगलबार बौद्धबाट पक्राउ गरेको हो । उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अदालतबाट पाँद्ब दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।