हिजो दिउँसोदेखि आज बिहानसम्म भएका सडक दुर्घटनामा पाँच जनाको निधन भएको छ । मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका-२ घर भएकी २५ वर्षीया श्रृजना विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बा.६० प ५२४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका-१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-५ कल्याणपुरमा रोकी राखेको ना.७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३-००४ प ५३७८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु.१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका-३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल लु.२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित हुँदा लु.१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।