नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा ११ बजे बस्न लागेको हो । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्नेछ ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।
यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ ।
त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी बारेमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।
बैठक हुने छलफलका विषयवस्तुहरु:
१. अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
१०. समसामयिक प्रस्तावहरू