क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाई पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेका दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
दाहालले ठगि गरेको भन्दै धनञ्जय कुमार कार्कीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । कार्कीको उजुरीपछि विभागले अपराध अनुसन्धान कार्यालयलाई खोजिदिन आग्रहसहित पत्र पठाएको थियो । प्रहरीले दाहाललाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट आज पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताए ।