बैंकिङ कसूर मुद्दामा फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले गत असार ७ गते गरेको फैसलामा थापालाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
अदालतको फैसलासँगै फरार भएकी थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।