अहिलेको विज्ञान प्रविधिको युगमा समेत निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नसकेको आलोचना खेप्दै आएको निर्वाचन आयोगले आसन्न निर्वाचनमा पनि इभियम प्रयोग गर्न संभव नरहेको जनाएको छ ।
संचारकर्मीहरुसँगको कुराकानीमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरुबीच सहमति जुट्न नसक्द यस वर्षको चुनाबमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्न नसकिएको जानकारी दिएका हुन् । त्यसैगरी उक्त मेसिन महंगो हुने भएकाले पनि सम्भव नभएको उनको भनाई छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ ।
आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको प्रमुख आयुक्त थपलियाले बताए ।
आयोगले स्थानीय तहको निर्वाचनमा स्पष्टीकरण सोधिएका नेताहरुप्रति कठोर बन्ने संकेत गरेको छ । स्थानीय तहको निर्वाचनमा स्पष्टीकरण सोधिएका तर सफाई नपाएका नेताहरुले प्रदेश र संघीय प्रतिनीधि सभामा उम्मेदवार बन्न नपाउने थपलियाले स्पष्ट पारेका छन् ।
त्यस्तै विदेशमा रहेका करिव ४० लाख मतदाता यो निर्वाचनमा मतदानबाट बञ्चित रहने आयोगले बताएको छ । वेलावेला विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने आवाज उठ्दै आएको छ । तर निर्वाचन आयोगले भने अहिलेको अवस्थामा प्राविधिक हिसावले र कानुनी रुपमा पनि विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन नसकिने जवाफ दिएको छ ।
अहिले करिब एक करोड ८२ लाख मतदाता रहेकोमा करिब ४० लाख मतदाता विदेशमा रहेको आयोगको अनुमान छ । यो भारतबाहेक तेस्रो मुलुकको तथ्यांक हो । त्यस्तै भारतमा करिब १० लाख मतदाता रहेको आयोगको अनुमान छ । यसरी हेर्दा करिव ५० लाख मतदाता देशबाहिर छन् ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि १० हजार आठ सय २५ मतदानस्थल तोकेको छ भने २२ हजार पाँच सय अस्थायी मतदान केन्द्र तोकेको छ । एकै चरणमा हुने संघीय र प्रदेश निर्वाचनका लागि १० अर्ब खर्च हुने आयोगले जनाएको छ ।