नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् ।
स्वागतपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जापानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिने उद्धेश्यले आएको बताए । उनले जापानमा बस्ने नेपालीहरुको लागि सरकारले के गर्न सक्छ भन्ने विषयमा अध्ययन गर्ने पनि जानकारी दिए ।
अध्यक्ष प्रचण्डले नेपालको आर्थिक क्षेत्र लगायत अन्य क्षेत्रको सुधार गर्न भ्रमणले सकारात्मक वातावरण बनाउने विश्वास लिएको बताए ।
“दुई देशको सम्बन्ध राम्रो बनाउनको लागि भ्रमणले सकारात्मक वातावरण बनाउछ । आर्थिक क्षेत्र र अन्य क्षेत्रको सुधार गर्न यसले सकारात्मक वातावरण बनाउछ । मेरो भ्रमण र राष्ट्रिय सभाको अध्यक्षको भ्रमणले पनि त्यो वातावरण बनाउन सहयोग नै पुर्याउछ ।” विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ।
उनले भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताउँदै उनको परिवारप्रति समवेदना व्यक्त गरे ।
प्रचण्डले युद्धमा ध्वस्त भएको देश आफ्नै मिहिनेतले यहाँसम्म आइपुग्नु ठूलो उपलब्धि भएको बताउँदै जापानबाट प्रेरणा लिनुपर्ने तर्क व्यक्त गरे ।