नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् । शुक्रबार राती १०ः३० मा प्रचण्ड जापान उड्ने उनका प्रेस संयोजक सुर्य किरण शर्माले बताए ।
नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको सचिवालयले जनाएको छ ।
प्रचण्डसँगै सचिवालयमा रहेका चार जना पनि जापान जान लागेका हुन् । उनी साउन २५ मा स्वदेश फर्किनेछन् ।
प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।
‘प्रचण्ड’का प्रमुख सुरक्षा अधिकृत परिवर्तन
‘प्रचण्ड’को प्रमुख सुरक्षा अधिकृत परिवर्तन भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रचण्डको प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)को जिम्मेवारी डीएसपी सिद्धराज न्यौपानेलाई सुम्पेको हो ।
यसअघि प्रचण्डका पीएसओको रुपमा नरेशराज सुवेदी कार्यरत थिए । सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई जिम्मेवारी सुम्पेको हो । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए ।