
६ महिनादेखि बलात्कृत भएकी १५ वर्षीया बालिकालाई महिला प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
झापाको अर्जुनधारा नगरपालिकामा-७ मा विगत ६ महिनादेखि गाउँकै छिमेकीबाट बलात्कृत भएकी बालिका बयान दिन इलाका कार्यालय अनारमनी ल्याएको बेलामा महिला प्रहरीहरूले दुर्व्यवहार गरेको खुल्नमा आएको हो ।
मुद्दा फाँटमा उजुरी गर्न जादाँ महिला प्रहरीले “६ महिनासम्म नबोल्ने सुस्त हो कि क्या हो” भनेर प्रश्न तेर्साएको प्रत्यक्षदर्शी समेत रहेका स्थानीय सञ्चारकर्मीले केटिएम दैनिकलाई जानकारी दिए ।
त्यस्तै मेडिकल गर्न लाने क्रममा प्रहरी हवल्दार पुजा प्रसाईँले, शुरुमा त नमज्जा भयो होला, तर पछि त मज्जा आयो होला नि हैन ? पैसा, कपडा दियो होला भनेर दुर्व्यवहार गरेकी हुन् । मुस्कान सहित सेवा दिने भनेको प्रहरी कर्मचारीबाट यस्ता प्रकारका अभिव्यक्ति आउनु शोभनीय हैन ।
झापाको अर्जुनधारा ७ की १५ वर्षीया बालिका ६ महिनाबाट छिमेकीबाट पटक पटक बलात्कृत भएकी थिइन् । आरोपित अर्जुनधारा ७ कै मेचे थरका अन्दाजी ५० वर्ष उमेरका व्यक्ति भएको बताइएको छ ।
बालिकाको आमा बितेको हुनाले उनी बुवासँगै बस्दै आएकी थिइन् । बुवा दिनभर काममा जाने हुनाले छिमेकीले गएको दशैंबाट नै उनलाई बलात्कार गर्दै आएको बताइएको छ । चैतदेखि नै उनको महिनावारी रोकिएपछि अहिले घटना बाहिर आएको स्थानीयबासीले बताए ।
यस विषयमा थप बुझ्न केटिएम दैनिकले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम कुँवरसँग टेलिफोन सम्पर्क गर्दा उनी आफू बाहिर रहेकोको यस विषयमा जानकार नभएको बताए ।
पीडित युवतीमाथि दुर्व्यवहार गर्ने हवल्दार प्रसाईँलाई स्पष्टिकरण सोध्न र सो अनुसार विभागीय कारवाही गर्नको लागि दवाव परेको बुझिएको छ ।
अपडेट: प्रहरी प्रवक्ता भन्छन् : बलात्कृत युवतीमाथि दुर्व्यवहार गर्ने महिला प्रहरीमाथि छानविन हुन्छ