
झापाको इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पूजा प्रसाईँ सहित अर्की एक प्रहरीमाथि छानविन हुने भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाई राईले बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्नेमाथि छानविन हुने बताएका हुन् ।
केटिएम दैनिकले आज ६ महिनादेखि बलात्कृत भएकी १५ वर्षीया बालिकालाई महिला प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेको थियो । झापाको अर्जुनधारा नगरपालिकामा-७ मा विगत ६ महिनादेखि गाउँकै छिमेकीबाट बलात्कृत भएकी बालिका बयान दिन इलाका कार्यालय अनारमनी ल्याएको बेलामा महिला प्रहरीहरूले दुर्व्यवहार गरेका थिए ।
मुद्दा फाँटमा उजुरी गर्न जादाँ महिला प्रहरीले “६ महिनासम्म नबोल्ने सुस्त हो कि क्या हो” भनेर प्रश्न तेर्साएकी थिइन् । त्यस्तै मेडिकल गर्न लाने क्रममा प्रहरी हवल्दार पुजा प्रसाईँले, शुरुमा त नमज्जा भयो होला, तर पछि त मज्जा आयो होला नि हैन ? पैसा, कपडा दियो होला भनेर दुर्व्यवहार गरेकी हुन् ।
केटिएम दैनिकसँग कुरा गर्दै प्रवक्ता राईले भने “यो एकदमै संवेदनशील विषय हो । बलात्कृत बालिकालाई सुरुक्षा दिनु हाम्रो पहिलो दायित्व हो । प्रहरीहरूलाई हामीले कुन व्यक्तिसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने बारेमा बाराम्बार तालिम दिइरहेका हुन्छौं ।”
“मैले यस विषयलाई गहन रुपमा लिएको छु । भोली नै यस विषयमा छानविन अगाडि बढाउँछु ।” उनले भने ।