इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् ।
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।”
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गर्नुभयो । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ ।
कस्ता हुन सक्छन् लक्षण?
– जनै खटिराजस्तो फोका आउने ।
– ठूलो खालको पानी फोका आउने ।
– पीप फोका आउने ।
– छाला रातो हुने ।
– पोल्ने।
– रातो दाबर तथा बिमिरा आउने ।
– रातो धर्सेखालको एलर्जी हुने ।
चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । डा. पुडासैनी भन्छन्, ‘छालारोग विशेषज्ञहरुले यो हेर्नेबित्तिकै थाहा पाउन सक्छन् तर कहिलकाहीँ अरु रोगसँग पनि छुट्याउनका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ ।’
कसरी सावधानी अपनाउने ?
छालारोग विशेषज्ञ डा. पुडासैनीले यो किरा देखिनेबित्तिकै किरालाई हातले नछोई पत्रिका वा अरु चिजले किरालाई हटाई छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्ने बताउँछन् । भन्छन्,‘ किरा माड्नुभएन । देख्नेबित्तिकै फाल्ने; बेटाडिन हालेर किरा बसेको ठाउँमा सफा गर्न सकिन्छ ।’ किराले संक्रमण गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताए ।
– फूल बाहुले लुगा लगाउने ।
– झूल लगाएर सुत्ने ।
– सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
– फोहोरमैला हुन नदिने ।
– पोलेमा चिसो आइसले सेक्ने ।
– धेरै नै दु:ख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।