म खोटाङमा जन्मिएकी हुँ । सानै देखि पढाईमा अब्बल थिए । विद्यालयमा सधैँ प्रथम हुन्थे । सुनौलो संसार देखेर जीवनमा केही गर्ने अभिलाषाको साथ अगाडि बढिरहेको थिए । जीवन साँच्चै नै सुन्दर थियो ।
आमा, बुवा, दिदी भाइ, सबैको मायामा हुर्किए । विद्यालयको प्रथम विद्यार्थी भएकोले पनि शिक्षक शिक्षिकाले धेरै नै माया गर्नु हुन्थ्यो । सबैको माया र साथ पाएर अगाडि बढ्न मलाई सहज भएको थियो ।
खुसीयालीको साथ समय बितेको थाहा नै भएन । एसएलसी दिने बेला भयो । एसएलसीमा उत्कृष्ट नतिजा आयो । त्यसपछि म साइन्स विषय लिएर पढ्न भनेर काठमाडौँ आए ।
राम्रोसँग पढिरहेको थिए । गाउँको पढाई र शहरको पढाइमा धेरै नै अन्तर हुने रहेछ । गाउँमा टप विद्यार्थी भएपनि काठमाडौँमा म औसत विद्यार्थीको रूपमा रहे । १२ कक्षाको परीक्षा दिएर म गाउँ गए । रमाइलोसँग नै बितिरहेको थियो मेरो जिन्दगी । परिवारको माया र छत्रछायामा हुर्किरहेको थिए । ११ कक्षाको एउटा विषयमा ब्याक पेपर बाँकी रहेकोले परीक्षा दिन पुनः काठमाडौँ आउनु पर्ने भयो ।
१२ सकेर म घर गएको थिए । आफू बसेको डेरा छाडेर घर गएकोले काठमाडौँ आएर कहाँ बस्ने भन्ने चिन्ताले सताइरह्यो । आमाले सानिमालाई फोन गर्नुभयो । सानीमाले मेरो घर हुँदा हुँदै किन अन्त बस्नु पर्यो भनेर बोलाएपछि म राजधानी फर्किए र सानीमाको घर भक्तपुरको बालकोटमा केही समय बस्ने गरेर आए ।
अनि सुरु भयो कालो दिन
२०७१ सालमा म सानीमाकोमा बस्ने गरी आए । सानीमाको देवरले (हाम्रो आमाहरूले दाजु भाइसँग बिहे गर्नुभएको हो) । कोही नभएको मौका छोपेर मलाई बलात्कार गरे । रातको समयमा म एकदमै चिच्याए । मैले चिच्याएको सुनेपछि भाडामा बस्ने आन्टीहरू आउनु भयो । उहाँहरू आएपछि काका भनौदो झ्यालबाट हाम फालेर भागे । म बेहोस भएछु । आन्टीहरूले वरिपरिका मान्छे बोलाएर मलाई अस्पताल लानु भएछ । त्यो कालो रात मंसिर १७ गतेको थियो ।
होस आउँदा म थापाथली अस्पतालमा थिए । बिहानको २ बजेको रहेछ । म अस्पतालमा नै रोए, चिच्याए । राती नै प्रहरी आउनु भयो । उहाँहरूको रोहबरमा मेरो मेडिकल जाँच गरियो । औषधी उपचारको दुई दिन पछाडि मेरो डिस्चार्ज भयो ।
डिस्चार्ज भएपछि मलाई भक्तपुर प्रहरी वृत ठिमी लगियो । त्यहाँ मैले जाहेरी दिए । त्यसपछि प्रहरीले मेडिकल जाँच गर्न थापाथली लिएर गयो । प्रहरीले आरोपितलाई खोज्न थाल्यो तर उनी फरार भइसकेका थिए । हुन त मेरो परिवार सबै थियो तर पनि म एक्लो भए ।
सबैले यो कुरा बिर्सन दबाब दिनुभयो । ‘जे हुनु भयो, अब बिर्सिदे, यस्तो कुरा गरेर हुन्छ, हाम्रा पनि छोरी चेली छन्, भोलि विवाह गरेर पठाउनु पर्छ । तेरो कारणले गर्दा मेरो छोरीहरूको विवाह हुँदैन, चुप लागेर बस’ भनेर काका बुवाहरूले मलाई नै गाली गर्नु भयो । परिवार नै मेरो विरुद्धमा भयो । उहाँहरूले मेरो पीडा देख्नुभएन । आफ्नो छोरीको विवाह नहुने भयो भनेर उल्टै तनाव दिनुभयो ।
मैले उजुरी गरे मसँग सम्बन्ध तोड्ने निर्णय गर्नुभयो । मैले मेरो परिवार भन्दा न्याय ठुलो लाग्यो र परिवार छाडेर न्यायको लागि लड्ने निधो गरे । २/३ वर्षसम्म म प्रहरीको धाइरहे । सुरुमा किन एक्लै आएको भनेर माया गर्नुहुन्थ्यो । मेरो कोही छैन एक्लै लडिरहेको छु भनेर भने पछि ‘ए यो त एक्लो रहिछे’ भनेर होला एकदमै नराम्रो व्यवहार गर्न थाल्नुभयो ।
अनि सुरु भयो लडाइँ
घर परिवारको समर्थन नभएपछि म साथी र दिदीहरूकोमा बस्न थाले । मान्छे नभेटिएपछि मेरो फाइल स्वतः अदालतमा जानुपर्ने थियो तर पैसाको आँडमा त्यो मुद्दा अदालत सम्म जान पाएन । फाइल दर्ता हुन दिएनन् । फाइल दर्ता नभएपछि अगाडि बढ्न पाइएन । मेरो उजुरी किन दर्ता गर्नुभएन भन्दा महिला प्रहरीले मलाई निकै नराम्रोसँग गाली गर्नुभयो । अति भएपछि म सबै कुरा बिर्सिएर अगाडि बढ्छु भनेर १ वर्ष चुप बसे तर, पनि मेरो मन मानेन । १ वर्षपछि फेरि प्रहरीकोमा गए । त्यहाँ पनि नयाँ मान्छे आउनुभएको रहेछ ।
त्यसपछि न्यायको आसमा म महिला आयोग गए । महिला आयोगले प्रहरीमा फोन गर्दा मान्छे फरार छ भनेर टार्यो । महिला आयोगले केही गर्छ कि भन्ने ठुलो आसमा थिए । तर त्यहाँको अध्यक्ष तथा सदस्य म्यामहरूले ‘अब तिमीले त्यो कुरा बिर्सिदेऊ, अब लडाइँ लडेर केही पनि हुन्न । तिमीले न्याय पाउन मुस्किल छ । बरु हामी पढ्न सहयोग गर्छौँ । त्यो कुरा बिर्सिदिएर अगाडि बढ” भन्नु भयो । मेरो मनभित्र लागेको चोट उहाँहरूले पढाउँदा निको हुन्छ र ? कति सहज रूपमा लिनु भयो । मेरो ठाउँमा उहाँहरूको छोरी भएको भए के गर्नुहुन्थ्यो होला ?
त्यसपछि म मानव अधिकार आयोग गए । त्यहाँ पनि ‘यस्ता केशहरू धेरै आउँछन्, तिम्रै पछि कुदेर मात्र हुँदैन’ अब नयाँ जीवन सुरु गर भनेर पठाउनु भयो । मेरो मनभित्रको पीडा बुझ्ने मान्छे नभेटेकोमा म निकै दुःखी भए ।
अनि म माइती नेपाल तिर गए । त्यहाँ पनि हामी चेलीबेटी बेचबिखन मात्र हेर्छौँ । तपाईँको समस्या हाम्रो सरोकारको कुरा हैन भनेर पठाउनु भयो । महिलाको लागि काम गर्ने अधिकांश ठाउँहरूमा गए तर कसैको साथ पाइन ।
स्वास्थ्यमा समस्या
त्यो घटनापछि म गर्भवती भए । ३ महिना पछि प्रहरीको साथमा गएर मैले थापाथलीमा गर्भपतन गराए । त्यो बेलाको पीडा मलाई भन्दा धेरै कसलाई थाहा होला र ? मेरो स्वास्थ्यमा समस्या छ । महिनावारी भएको बेला उठ्नै सक्दिन । १५ दिनसम्म रगत बगिरहन्छ । साथै ढाड दुख्ने तथा तल्लो पेट दुख्ने समस्या पनि छ ।
म मानसिक रूपमा पनि विक्षिप्त बनेको छु । दुई वर्षसम्म मैले डिप्रेसनको औषधी खाए । पाँच वर्षदेखि म कोटेश्वर कटेर भक्तपुरतिर गएको पनि छैन । भक्तपुर तथा बालकोटको नाम सुन्दा पनि म तर्सिन्छु । म एन्जाइटीबाट ग्रस्त छु । औषधी उपचार नगराए पनि मेरो शरीर मलाई थाहा हुन्छ नि । परिवारको साथ नपाएकोले म आर्थिक रूपमा पनि कमजोर छु । औषधी उपचार गराउने, मुद्दा लड्ने पैसा पनि म सँग छैन ।
होस्टेलमा उस्तै व्यथा
सुस्मिता, रेजिनाले सामाजिक सञ्जालको साथ पाएर न्याय पाएको देखेपछि मलाई पनि सामाजिक सञ्जालमा आएर आफ्नो दुखेसो पोख्न मन लाग्यो र मैले नयाँ आइडी बनाएर भिडिओ पोष्ट गरे । भिडिओ पोष्ट गरेपछि मेरो होस्टेलको म्यामले पनि मेरो बारेमा थाहा पाउनु भएछ । उहाँले मलाई तथानाम गाली गर्नु भयो । ‘नानी तिमी यो होस्टेलमा बस्दा हाम्रो होस्टेलको इज्जत जान्छ । तिमी अन्तै बसेर न्यायको लागि लड । यहाँ बस्ने अन्य युवतीहरूलाई तिमीले गर्दा समस्या हुन्छ । तिमी यहाँबाट निस्केर जाऊ ।’ उहाँको यो कुरा सुनेपछि म छाँगाबाट खसे झैँ भए । कता जाँदैछ हाम्रो समाज ? महिलाहरू नै महिलाको समर्थन गर्न किन डराउँछन् ? म बलात्कृत भएको हो । जबरजस्ती गएको हैन । के यो समाजमा खुलेर बाँच्न पाउने मेरो अधिकार छैन र ?
यी र यस्ता समस्या झेल्न नसकेर कति पल्ट आत्महत्याको प्रयास गरे । तर, पनि अभागीलाई कालले पनि लान मान्दैन रहेछ । म पटक पटक बाँचे ।
अन्तिम लक्ष्य
मेरो एउटा मात्र लक्ष्य भनेको अपराधीलाई कानुनी कठघरामा उभ्याउनु नै हो । उसलाई जेल पठाएर मैले केही पाउँदिनन् तर मेरो मनले शान्ति पाउँछ । ९ वर्षदेखि तड्पेर बसेको मेरो आत्माले शान्ति पाउँछ । हाम्रो देशमा न्याय पनि रहेछ भनेर न्यायको प्रत्याभूति गर्न चाहन्छु । तँ पनि उस्तै थिइस्, बैशमा काका चिनिनस् होला भनेर आरोप लगाउने आफन्तहरूलाई मैले केही गलत गरेको छैन भनेर देखाउन चाहन्छु ।
हो, म न्याय चाहन्छु । न्याय चाहन्छु । चिच्याइ चिच्याइ भन्छु मलाई न्याय दिलाउन मद्दत गर्नुस् । सबैको साथ र सहयोग पाए मैले अवश्य न्याय पाउनेछु । बलात्कारी खुल्लम खुल्ला हिँड्दा हुने, म चैँ पल पल मरेर बाच्नुपर्ने ? यो कहाँको नियम हो ?
आफ्नै काकाबाट बलात्कृत भएकी युवतीसँग गरिएको कुराकानीमा आधारित ।