दुइटा नाउमा खुट्टा राख्नेहरू सफलताको सागरमा पुग्दैनन् । तर, पछिल्लो समय नेपालमा भने निष्पक्ष पत्रकारिताको ब्यानरसहित ‘पार्टीकारिता’को आन्दोलनमा होमिएर सफलताको बाटो खोज्नेहरूको सङ्ख्या बढेको छ । विशेषगरी, अनलाइन मिडियाको दर्बिलो भविष्य देखेर यसतर्फ आकर्षित हुनेहरूले यसरी पत्रकारिता र ‘पार्टीकारिता’ दुवै नाउमा खुट्टा राख्ने गरेको पाइएको छ ।
नयाँ अनलाइन मिडियाको होडबाजी चलिरहेका बेला त्यसमा एक्लै खटिएर ‘वान म्यान आर्मी’ बन्नेहरूले दुवै विधा समात्दा बन्ने असन्तुलित सूचनाका कारण पत्रकारिता क्षेत्र बदनाम भएका कयौँ उदाहरण छन् । अथवा भनौँ पत्रकारिता र राजनीतिमा उत्तिकै दखल राख्न खोज्नेहरूले गर्दा पत्रकारिता ‘पार्टीकारिता’ बनेको छ ।
हो, आम नागरिकलाई चाँडोभन्दा चाँडो सूचना र विचार पु¥याउने अनलाइन पत्रकारिताले केही वर्षयता नेपालमा उल्लेख्य रूपमा फट्को मारेको छ । गुणस्तरमा वृद्धि नभए पनि अनलाइन पत्रकारितामा सङ्ख्यात्मक वृद्धि भएको छ । प्रेस काउन्सिल, नेपालमा फाल्गुन ११ गतेसम्म तीन हजार एक सय ६३ वटा अनलाइन सूचीकृत छन् ।
सूचीकृत नभएका अनलाइनहरूको सङ्ख्या पनि धेरै रहेको सहजै अनुमान लगाउन सकिन्छ । तथापी तिनीहरुलाई पनि सूचिकरणमा ल्याउन प्रेस काउन्सिल नेपालले प्रयास जारी राखेको छ । यो सङ्ख्या भनेको यति सानो देशका लागि चाहिनेभन्दा धेरै नै हो ।
पहिलेपहिले चियापसलमा भेला हुनेहरूले औँला भाँचेर भन्थे, ‘घरैपिच्छे छन् हौ सहकारी त !’ अहिले त्यसरी नै भेला हुनेहरू मोबाइल कोट्याउँदै भन्छन्, ‘पत्रकारपिच्छे अनलाइन, नेतापिच्छे अनलाइन । अनलाइनै अनलाइन ।’
हुन त अहिले सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्मार्टफोन छन् । मोबाइलमै अनलाइन न्युज पोर्टलका समाचारहरू उपलब्ध छन् । अनलाइन मिडियामा टेक्स्ट पढ्ने, भिडियो हेर्ने र अडियो सुन्नेमात्र नभएर मिडिया तथा अरू पाठकले देख्नेगरी तुरुन्तै प्रतिक्रिया दिन सकिने भएका कारण पनि यो सबैको रोजाइमा पर्न थालेको छ ।
छिनछिनमा पाठकले पनि त्यही प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेका हुन्छन् । रेडियो, टिभी र पत्रपत्रिका जस्ता सञ्चारमाध्यमलाई ‘जीर्ण’ मानिरहँदा अनलाइन मिडियालाई ‘नेक्स्ट जेनेरेसन’ को सञ्चारमाध्यमका रूपमा लिइन्छ ।
अनलाइनको दर्बिलो भविष्य रहेको आँकलन गर्न सकिन्छ । भविष्य बलियो भएका कारण अनलाइन मिडियाको क्रेज बढ्दो छ । सङ्ख्यात्मक वृद्धिका हिसाबले अनलाइनसँग तुलना गर्न मिल्ने अरू विषय सायदै होलान् । तर अनलाइनको बढ्दो सङ्ख्या र क्रेजले पत्रकारिता क्षेत्रमा ठुलो विकृति फैलिँदै गइरहेको छ ।
राजनीतिक आस्थाका कारण पनि सञ्चारमाध्यम धरमरमा परेको आँकलन गर्न सकिन्छ । समाचारमा पार्टीगत प्रभाव हुनु र पत्रकार कुनै राजनीतिक दलप्रति आस्थावान् हुनु फरक विषय हो । तर आफ्नो राजनीतिक आस्था वा विचारलाई समाचारमा प्रतिविम्बित हुन दिँदा भने आम सर्वसाधारण सही सूचना लिनबाट विमुख छन् । त्यसरी पाठकलाई सही सूचनाबाट टाढा राख्नु पत्रकारको धर्म होइन ।
पत्रकारले राजनीतिमा आस्था राख्नु हुँदैन भन्ने पनि होइन । तर राज्यको ‘अघोषित्’ चौथो अङ्ग भइसकेपछि सही सूचना लिने जनताको अधिकारलाई ख्याल गर्नु पत्रकारिताको धर्म हो । पछिल्लो समय यो धर्म कुल्चेर हिँड्ने प्रवृत्ति हाबी भएको छ । जसका कारण सिङ्गो पत्रकारिता क्षेत्र बदनाम छ ।
यसैले त आम सर्वसाधारणले समाचारमा पार्टीगत प्रभाव पार्ने पत्रकारितालाई ‘पार्टीकारिता’ अनि त्यस्ता पत्रकारलाई ‘पत्रुकार’ भनेर नाम दिएका छन् ।
नेपालमा राजनीतिक पत्रकारिताको प्रभाव
नेपालमा अहिले पत्रकारिताको नाममा दलगत वा दलविशेषका गुटगत पक्ष वा निश्चित व्यक्ति वा संस्थाको पोषण गर्न खोलिएका अनलाइनहरू खुलिरहेका छन् । तथा पत्रपत्रिकाहरुले पनि पार्टीगत रुपमा समाचार सम्प्रेषण गरिरहेका छन् । ‘मिडिया लिटरेसी’ को फाइदा उठाउँदै नेपाली सञ्चारमाध्यमहरुले पाठक दर्शक तथा श्रोताहरुलाई झुक्काइरहेका छन् ।
च्याउसरी खुलेका अनलाइनमध्ये कतिपयको मिसन भनेको पार्टीतिर ढल्केर आफ्ना नेतालाई सन्तुष्ट बनाउनु नै हो, जसले गर्दा पत्रकारिताको नै बदनाम भइरहेको छ ।
अहिले त पत्रकारिताको मूल धर्म नै परिवर्तन भएर चाकडी पत्रकारिता फ्रस्टाएको छ । नेतापिच्छेका अनलाइन र नेताहरूको गुनगान गाउन खोलिएका अनलाइनले पत्रकारिताप्रतिको विश्वास नै गुम्न थालेको छ । अहिले त फलानो अनलाइनले यस्तो लेखेछ त भन्न नपाउँदै त्यो त, त्यो पार्टीको त्यो व्यक्तिको अनलाइन हो भनेर थाहा भइसकेको हुन्छ । पत्रकार र मिडिया हाउसले दिने कन्टेन्टको आधारमा नै कुन पार्टीको मिडिया हो भनेर छुट्याउन सकिने अवस्था आइसकेको छ ।
अनलाइन मिडियामा राजनीतिक पार्टीका लगानी छन् कि छैनन् भन्ने विषय छुट्टै अनुसन्धानको विषय होला । केही मिडियामा नेताहरूको लगानी रहेको सुन्नमा आउँछ । अनि कालो धनलाई सेतो बनाउने सन्दर्भमा समेत सञ्चार उद्योगहरूमा लगानी गर्ने गरिएको छ भनेर सुनिन्छ । तथापि, यी विषयहरू अनुसन्धानको विषय भएका कारण यसबारे सम्बन्धित निकायको ध्यान आकर्षण गर्नुबाहेक अरू केही भन्न सकिँदैन ।
तर त्यसरी प्रत्यक्ष पार्टी वा नेताका लगानीमा अनलाइन चलेमा त्यस्ता मिडियाले पार्टीगत प्रभावमात्र नभएर पक्षपाती र पूर्वाग्रहले भरिएका सूचना सम्प्रेषण गरी आम जनतामा भ्रम फैलाउन भूमिका निर्वाह गर्नेमा दुईमत छैन । हुन त मिडिया राजनीतिक पार्टीका मुखपत्र बनिदिँदा ती पार्टीले त गर्व गर्लान्, तर सो मिडियाले आफ्नो आस्थाका कार्यकर्ताबाहेक अरू पाठकको मन भने कदापि जित्न सक्दैन ।
यसकै उदाहरणमा पनि त्यस्ता अनलाइन मिडियाले सम्प्रेषण गरेको समाचारमुनि आएका प्रतिक्रियालाई लिन सकिन्छ । पाठकले दिने ‘झोले पत्रकारिता’ जस्ता उपनामहरू पनि प्रतिष्ठा कमाएको पत्रकारिताजस्तो सामाजिक संस्थाका लागि दाग बन्ने गरेको छ । यस्ता मिडियाकै कारण राजनीतिक पार्टीभित्रका विकृति, विसङ्गति, भ्रष्टाचार र आपसी विवाद सार्वजनिक हुँदैनन् ।
पार्टीभित्रका विवादित विषय सार्वजनिक गर्न वा नेताले चित्त दुखाइदिने समाचार सार्वजनिक हुँदैनन् पनि । हुन् पनि कसरी ? भोलि उनीहरूका ‘टाउके’ शीर्ष नेताको गुनासो हुन्छ, ‘पत्रकारहरू आफ्ना पार्टीप्रति सकारात्मक भएनन्, सहयोग गरेनन्, जे पायो त्यही लेख्छन् ।’ यसैले पनि शीर्ष नेतालाई खुसी बनाउन उनीहरू जनतालाई सही सूचनाबाट टाढा राख्छन् ।
बरु केही निष्पक्ष पत्रकारिता गरिरहेको मिडियाबाट पार्टीको टाउको दुख्ने प्रकृतिका समाचार आएमा तुरुन्तै खण्डन प्रकाशन गर्छन् र आफ्ना नेतालाई गदगद बनाउँछन् । यसो गरेबापत उनीहरूलाई राजनीतिक पार्टीको कुनै पदमा अवसर मिल्ला, विज्ञापन मिल्ला र चाडपर्वमा खाम मिल्ला । तर ‘भ्रमकारिता’ बाट आम पाठकले भने गलत सूचना पाइरहेका हुन्छन् ।
पार्टीकारिताको उद्देश्य
‘प्रोपगन्डा’ का हिमायतीहरूले पनि आफ्नै मिडिया सञ्चालन गरेर त्यसबाट सूचनालाई समाचारकै रूपमा पेस गरिरहेका हुन्छन् तर त्यसमा एकपक्षीय आग्रह, पूर्वाग्रह वा निहीत स्वार्थप्रेरित हुन्छ । एउटै कुरा सयौँ पटक भनिरह्यो भने त्यो असत्य कुरा भए पनि सत्य हुन पुग्छ ! पत्रकारिताभित्रका मयल र कुकर्मीहरूसमेत बग्रेल्ती छन् । समाचार प्राप्त गरेपछि पीडित वा पीडकसँग सम्पर्क गर्ने, मौका परे धम्क्याउने, पैसा वा स्रोत–साधन माग्ने गरेका अनेकौँ कुराहरू बेला–बेलामा चर्चित बन्छन् । अनि त्यसलाई राजनीतितिर जोडेर हेर्दा विपक्षी वा चुनावी प्रतिस्पर्धीमाथि अनेकन लाञ्छना लगाएर चरित्रहत्या गर्नेहरूले चलाएका मिडिया पनि छन्, नेपालमा । तिनीहरू आफ्ना नेताका लागि अरू जोकोहीलाई खसाल्न सक्छन् ।
पञ्चायतकालमा हुन्थ्यो, ‘मिसन पत्रकारिता’ । मिसन पत्रकारितामा सबै मिडियाको एकमात्र उद्देश्य भने पञ्चायतको अवसान र बहुदलीय व्यवस्थाको समुन्नति नै हुन्थ्यो । तथापि, मिसन पत्रकारिताभित्र पनि पार्टीकारिता देखिन आउँछ । त्यसबेला प्रतिबन्धित अवस्थामा पनि केही समूहहरूले अरूलाई भ्रम फैलाएर आफूप्रति आकर्षित गराइ देशमा सकारात्मक परिवर्तनको साहस राख्थे । अहिले पनि मिसन पत्रकारिता कायमै छ । तर सो मिसन पत्रकारिता सकारात्मक परिवर्तनतिर नभएर नकरात्मकतातिर लम्किरहेको देख्न सकिन्छ ।
अहिले धेरै सञ्चारमाध्यमहरुले आफ्ना सामाग्रीहरु धेरै पाठक वा दर्शकसामु पु¥याउन सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्छन् । अर्थात्, राम्रो होस् वा नराम्रो आफूले सम्प्रेषण गरेको तथ्यहीन सूचनालाई ‘भाइरल’ बनाउनु, डलर खर्चेर आफ्ना नेता चिनाउनु तथा विपक्षीलाई पैतालामुनि राख्न खोज्ने प्रवृत्ति त्यस्ता मिडियामा हाबी छन् । अनि कसैलाई चुनावी प्रतिस्पर्धामा जिताउन र पार्टीका नकारात्मक समाचारको खण्डन गर्न पनि त्यस्ता मिडिया खुलेका हुन्छन्् ।
अनि, केही त पत्रकारिताको खोल ओडेर प्रत्यक्ष राजनीतिक दलमा सामेल हुन्छन् । एउटा नागरिकका नाताले राजनीतिक दर्शन, नेता वा व्यक्तिको कार्यशैलीप्रति झुकाव हुनु अस्वाभाविक होइन तर पेशागत मापदण्ड नै मिच्नेगरी कार्यकर्ता भएर राजनीतिक दलमा सामेल हुनु भनेको पेशेवर पत्रकारलाई सुहाउने कुरा होइन ।
उनीहरूमा पत्रकारितालाई सिँढी बनाएर राजनीतिक उचाइ हासिल गर्ने ‘चपर्चन्ड’ हुन्छ । तिनले जसरी भएपनि पत्रकारिताको दुरुपयोग गरेकै हुन्छन् । उनीहरूले समाचारकै लागि भनेर सूचना लिए पनि अमुक राजनीतिक दल वा नेताको फाइदाका लागि दुरुपयोग गर्न सक्छन् । उनीहरू विपक्षी पार्टीका सूचना आफ्ना शीर्ष नेतासमक्ष सम्प्रेषण गर्न उद्धत हुन्छन्, किनकि पछिल्लो समय राजनीति सत्ता पक्ष र विपक्षीले चाल्ने एउटा रणनीतिक चालसमेत हो ।
आचारसंहिताले के भन्छ ?
संविधानमा हरेक नागरिकलाई जुनसुकै पेसा–व्यवसाय रोज्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । पत्रकार राजनीतितिर होमिन चाहन्छ भने उसलाई पनि त्यो स्वतन्त्रता छ । तर पत्रकारितामै रहेर पार्टीकारिता गर्न भने आचारसंहिताले दिँदैन ।
हुन पनि पार्टीकारिता गर्नेहरूले निष्पक्ष र तटस्थ पत्रकारितालाई मूर्त रूप दिन सक्छन् ? राजनीतितर्फ ढल्किँदा ऊ आबद्ध सञ्चारमाध्यम निरपेक्ष हुन नसक्ने त होइन तर बहुधा हुने गरेका वा पाइएका छैनन् । यसले पत्रकारिताका मूल्य–मान्यतामा ह्रास र पेसागत आचारसंहिताको खिल्ली उडिरहेको केबल आरोपमात्र हुन सक्दैन ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) का अनुसार भेदभाव हुनेगरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषणमा पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गनु नहुने उल्लेख छ ।
कस्तो हुनु पर्छ पत्रकारिता ?
पत्रकारिता जनसेवा पनि हो, यस मानेमा कि पत्रकारितामा जनचासो र जनताका हकमा कुनै पनि विषयवस्तुको महत्वलाई हमेशा ख्याल गरेर मात्र गरिन्छ । पत्रकारिताका सिद्धान्त भन्नासाथ सामान्यतया तीन कुरा बुझिन्छ, यथार्थ, सन्तुलन र विश्वसनीयता । विश्वसनीयता एउटा पत्रकारको सम्पत्ति हो, ठुलो पुँजी हो । जसमा रहेर पत्रकारितामा समाचार सामग्रीमार्फत तथ्य, विचार, घटना, घटनाक्रम आदिको यथार्थ विवरण पेस गर्न सकिन्छ, जनतालाई सुसूचित गर्दछ ।
जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठुलो प्राप्ति मानिन्छ । पत्रकारिताप्रति जनविश्वास गुम्नुभन्दा ठुलो हानि पत्रकारिताका लागि केही हुँदैन । अनि निष्पक्षता पनि पत्रकारिताको आधारभूत सिद्धान्त हो । यसैले पनि समाचार सबै किसिमका पूर्वाग्रहहरूबाट मुक्त हुनुपर्छ ।
चौथो अङ्गको मर्यादाधारी पत्रकारिता के हो र कस्तो हुनुपर्छ ? खुट्याउने र पेशागत शुद्धीकरण गर्ने जिम्मा पत्रकारहरूको छाता सङ्गठन पत्रकार महासंघले लिनुपर्ने हो । पत्रकारको हकहितका लागि अरू पनि संगठन खुलेका छन् तर ती संठनहरूले पत्रकारिताभित्र राजनीति नै गरेका छन् । पार्टीका भातृ संगठनकै रूपमा सबै दल निकट विभिन्न नामका संगठनहरू चलायमान छन् ।
अर्काको पैसामा देशदेशावर घुम्ने, उनीहरूका पक्षमा सकारात्मक प्रचारबाजी गर्ने, पत्रकारिता र अन्य पेसाका बाझिने स्वार्थहरूलाई मिसाउने, ठुला उपहारका लागि सेवाग्राहीलाई दबाब दिने, समाचारका लागि लिइएका तथ्यलाई अन्य निजी कामका लागि दुरुपयोग गर्ने, आफ्नो स्वार्थसिद्धि हुने भए समाचारै गायब पार्ने आदि अव्यावसायिक गतिविधि निर्बाध चलिरहेका छन् ।
तसर्थ, पत्रकारिताका पेसागत मर्यादा, आचरण र व्यावसायिक मापदण्डका बारेमा नयाँ–पुराना पुस्ताका पत्रकारलाई समय–समयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहनुपर्छ ।
यो आर्टिकलको सम्पादित अंश प्रेस काउन्सिल नेपालको चैत अंकको संहिता जर्नलमा प्रकाशित भएको छ ।