सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धिको विरोधमा आज पनि मसाल जुलुस प्रदर्शन गरिएको छ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बिरोधमा आज आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो । उक्त संगठनले हिजो त्रिचन्द्र क्याम्पसमा निकालेको मसाल जुलुसमा प्रहरीसँग झडप भएको थियो ।
अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको बिद्यार्थीको बिरोध जुलुसले प्रधानमन्त्री शेर बहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु को पुत्ला समेत जलाएका छन् ।
प्रदर्शनकारीले केही बेर सडक अबरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
निगमले आइतबार मध्यरातबाट लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।