स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित भएका ३५ हजार ३६ जनप्रतिनिधिमध्ये १ हजार ६७७ जना पुरानै अनुहार हुन् ।
अघिल्लो निर्वाचन र यस निर्वाचनको तथ्याङ्क केलाउने हो भने पालिका प्रमुख (गाउँपालिका अध्यक्षसहित), उपप्रमुख (उपाध्यक्षसहित) र वडाअध्यक्ष गरेर एक हजार ६७७ जना दोहोरिएका छन् । यहाँ दलित महिला वडा सदस्य, महिला सदस्य र खुला सदस्यको तथ्याङ्क भने विश्लेषण गरिएको छैन ।
यसरी दोहोरिने जनप्रतिनिधिमा पुरुषको सङ्ख्या १ हजार ५७८ रहेको छ भने महिलाको सङ्ख्या मात्र ९९ छ ।
दोहोरिएका जनप्रतिनिधिमा केहीले राजनैतिक दल परिवर्तन गरेका छन् । यो पाँच वर्षको अवधिमा केही पार्टीहरू टुक्रिएका छन् भने केही जोडिएका छन् । त्यसैले तथ्याङ्क विश्लेषण गर्न अलिक अप्ठयारो छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रको तथ्याङ्क एकिन भएतापनि अन्य दलहरूमा भने टुटफुट वा जोडिने क्रम रहेकाले तथ्याङ्क केही तलमाथि हुन सक्छ। हामीले २०७४ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबाट निर्वाचित भएकालाई अहिलेको जनता समाजवादी पार्टी, नेपाल नै मानेर तथ्याङ्क विश्लेषण गरेका छौं ।
तथ्याङ्क केलाउँदा २६० जनाले राजनैतिक दल परिवर्तन गरेर सोही पदमा पुन: निर्वाचित (निर्विरोध समेत) हुँदा १ हजार ४१७ जना सोही पार्टीमा रहेर पुन निर्वाचित भएका हुन् ।
प्रमुखमा ५६ जना, उपप्रमुखमा ३५ जना, अध्यक्षमा ९६ जना, उपाध्यक्षमा ५४ र वडाअध्यक्षमा १ हजार ४३६ जना दोहोरिएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । प्रदेशगत रुपमा हेर्दा प्रदेश १ मा ३२७ जना, मधेश प्रदेशमा ३५४, बागमती प्रदेशमा ३२०, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा २७८, कर्णालीमा ९५ र सुदूरपश्चिम प्रदेशमा १३३ जना दोहोरिए ।
प्रदेश १ मा दोहोरिएका मध्ये २९१ जना सोही पार्टीबाट हुन भने ३६ जनाले यो निर्वाचनमा पार्टी परिवर्तन गरेका थिए । मधेश प्रदेशमा दोहोरिएका ३५४ जनामध्ये २३१ जना सोही पार्टीबाट र १२३ जनाले राजनैतिक दल परिवर्तन गरेका हुन् ।
बागमती प्रदेशमा २८९ जना सोही पार्टीबाट पुन ५ वर्षको लागि निर्वाचित हुँदा ३१ जना अघिल्लो निर्वाचनमा निर्वाचित भएको दल परिवर्तन गरेर नयाँ दलमा आएका थिए ।
गण्डकी प्रदेशमा १६१ सोही पार्टीबाट र ९ जनाले पार्टी परिवर्तन गरेका हुन् । लुम्बिनी प्रदेशमा २४३ जना पहिलाकै पार्टी र ३५ जनाले राजनैतिक दल परिवर्तन गरेका हुन् । कर्णाली प्रदेशमा ८९ जना सोही दलबाट र ६ जना अहिलेको निर्वाचनमा फरक दलबाट निर्वाचित भए । त्यस्तैगरी सुदूरपश्चिम प्रदेशमा ११३ जना पहिलाकै दलबाट र २० जनाले पार्टी परिवर्तन गरेका हुन् ।
प्रदेश १ मा ११ जना नगरप्रमुख, २० जना गाउँपालिका अध्यक्ष, ४ जना उपप्रमुख, १५ जना उपाध्यक्ष र २७७ जना वडाअध्यक्ष दोहोरिए । तीमध्ये प्रमुख, अध्यक्ष र वडाअध्यक्षमा दोहोरिएका पुरुष मात्र हुन भने उपप्रमुख र उपाध्यक्षमा दोहोरिएका महिला मात्र हुन् ।
मधेश प्रदेशमा नगरप्रमुखमा दोहोरिएका १६ जनामध्ये १५ जना पुरुष हुन् । सो प्रदेशमा दोस्रो कार्याकालको लागि निर्वाचित भएकी एकमात्र महिला हुन् रीना कुमारी साह । रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यालयको लागि निर्वाचित साह नेकपा एमालेका नेता प्रभू साहको श्रीमती समेत हुन् । अघिल्लो पटक उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएकोमा यसपटक भने नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
सो प्रदेशमा ५ जना अध्यक्षमा, १२ जना उपप्रमुखमा, ७ जना उपाध्यक्षमा र ३१४ जना वडाअध्यक्ष पदमा दोहोरिएका हुन् । उपप्रमुख र उपाध्यक्षमा दोहोरिएका सबै महिला हुन् भने अध्यक्ष र वडाअध्यक्षमा दोहोरिएका सबै पुरुष हुन् ।
बागमती प्रदेशका १३ नगर प्रमुखमा पुरानै अनुहार दोहोरिए । तीमध्ये चितवनको भरतपुर महानगरमा दोहोरिएकी रेणु दाहाल एकमात्र महिला हुन् । गाउँपालिका अध्यक्षमा दोहोरिएका २१ जनामध्ये सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा दिपा वोहोरा-दाहाल दोस्रो कार्याकालको लागि निर्वाचित भइन् । उनी बाहेक दोहोरिएका २० जना पुरुष हुन् । यस प्रदेशमा प्रमुख र उपप्रमुखमा दोहोरिएका दुवै महिलाहरू नेकपा माओवादी केन्द्रबाट दुईपटक निर्वाचित भएका हुन् ।
त्यस्तैगरी बागमती प्रदेशमा ८ उपप्रमुख र ५ उपाध्यक्ष दोहोरिँदा २७३ वडाअध्यक्ष दोस्रो कार्याकालको लागि निर्वाचित भए । वडाअध्यक्ष मध्ये २ जना महिला दोहोरिएका छन् ।नुवाकोटको बेलकोटगढी नगरपालिका-६ मा अम्बिका तामाङ्ग र चितवनको राप्ती नगरपालिका-७ को वडाअध्यक्षमा सुमिता डल्लाकोटी पुन निर्वाचित भए । २०७४ सालको निर्वाचनमा यी दुवै नेकपा एमालेबाट निर्वाचित भएकोमा डल्लाकोटी यसपटक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकी हुन् भने तामाङ्ग सोही दलबाट विजयी भएकी हुन् ।
गण्डकी प्रदेशका २७ नगरमध्येमा ६ नगरको प्रमुख पदमा पुरानै अनुहार निर्वाचित भए । त्यस्तै सो प्रदेशमा रहेका ५८ गाउँपालिका मध्येमा १६ गाउँपालिकाको अध्यक्षमा उनै व्यक्ति दोहोरिए । यीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मी देवी पाण्डे एकमात्र महिला हुन् ।
सो प्रदेशबाट उपप्रमुख पदमा तीन जना दोहोरिँदा एक पुरुषसहित १० जना गाउँपालिका उपाध्यक्षमा पुन निर्वाचित भए । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट दोस्रो कार्याकालका लागि निर्वाचित भएका सो प्रदेशका एकमात्र उपाध्यक्ष हुन् वाल कृष्ण घिमिरे ।
वडाअध्यक्षमा १३५ जना दोहोरिए तीमध्ये २ जना महिला हुन् भने बाँकी १३३ जना पुरुष हुन् । लमजुङ जिल्लाको बेसीशहर नगरपालिका-८ की वडाअध्यक्ष पवित्रा थापा, राना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैडाकोट नगरपालिका-१४ की किसरा राना मगर दुवै नेकपा एमालेबाट दोस्रो कार्याकालयको लागि निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशमा ६ जना प्रमुख र १३ जना अध्यक्ष दोहोरिए । उपप्रमुखमा ६ र उपाध्यक्षमा १० जना दोहोरिए । नगर प्रमुख र गाउँपालिका अध्यक्ष पुरुष हुन् भने उपाध्यक्ष र उपप्रमुख महिला हुन् ।
त्यस्तै वडाअध्यक्षमा दोहोरिएका २४३ मध्ये २ जना महिला हुन् । कपिलवस्तुको यसोधरा गाउँपालिका-३ मा नेपाली कांग्रेसकी सरिता त्रिपाठी दोस्रो कार्याकालको लागि निर्वाचित हुँदा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ मा माओवादी केन्द्रकी राधा चौधरी पुन विजयी भइन् ।
महानगर र उपमहानगर नरहेको कर्णाली प्रदेशमा दुई नगरप्रमुख ९ अध्यक्ष र उपप्रमुख र उपाध्यक्ष २/२ जना दोहोरिए । यस प्रदेशबाट ८० जना वडाअध्यक्ष पनि दोस्रो कार्याकालयको लागि पुन निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा २ प्रमुख १२ अध्यक्ष दोहोरिँदा उपप्रमुखमा कोही पनि दोहोरिएनन् । ५ जना उपाध्यक्ष दोहोरिँदा ११४ जना वडाअध्यक्ष दोहोरिए । तीमध्ये कैलाली जिल्लाको लम्की चुहा नगरपालिका-५ मा माओवादी केन्द्रबाट मायाँ विष्ट दोस्रो पटक निर्वाचित हुने सो प्रदेशको एकमात्र महिला वडा अध्यक्ष बनिन्।
यस प्रदेशमा एक पालिकाको निर्वाचन हुन बाँकी छ ।
एउटै दलबाट दोहोरिएका नगर प्रमुख र गाउँपालिका अध्यक्षहरुको विस्तृत विवरण ।
एउटै दलबाट दोहोरिएका नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षहरूको विस्तृत विवरण ।
एउटै दलबाट दोहोरिएका वडा अध्यक्षहरूको विस्तृत विवरण ।
२०७४ को निर्वाचनमा एउटा दलबाट र अहिले आएर अर्को दलबाट निर्वाचित जनप्रतिनिधिहरूको विस्तृत विवरण