निर्वाचन सम्पन्न भएको १२ दिन बितिसक्दा पनि सबै स्थानीय तहको नतिजा आइसकेको छैन ।
बिहीबार बिहान यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरसहित तीनवटा स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी नै छ ।
यसरी मतगणना भैरहेका स्थानीय तह हुन् काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका ।
काठमाडौं महानगरको प्रमुखमा पदमा स्वतन्त्र उम्मेदवार बालेन साह धेरै मतान्तरले अगाडि छन् भने तिलोत्तमा नेपाली कांग्रेसका राम कृष्ण खाँडले अग्रता लिएका छन् । त्यस्तैगरी त्रियुगा नगरपालिकामा पनि कांग्रेसकै वसन्त कुमार बस्नेतको अग्रता छ ।
काठमाडौं महानगर र तिलोत्तमा नगरपालिकाको मतगणना आज बेलुकासम्म सार्वजनिक हुने अनुमान गरिएतापनि त्रियुगाको अन्तिम नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्न सक्ने देखिएको छ ।