रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् ।
जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।
नवनिर्वाचित मेयर कखवारले ४ हजार ५६४ मत पाउँदा यादबले ४ हजार ५२५ मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७०३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
रौतहटका १८ वटै पालिकाको नतिजा, कुन दलले कहाँ-कहाँ जिते ?
रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा(एस)ले चार, एमालेले तीन, लोसपाले दुई तथा जसपा र माओवादी केन्द्रले एक एक पालिकामा जित हात पारेका छन् ।
कांग्रेसले फतुवा विजयपुर, राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा र माधव नारायण नगरपालिकामा जितेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक एक पालिका गुमाएको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।
एकीकृत समाजवादी वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ ।
एमालेले देवाही गोनाही, गरुडा र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिका जितेको हो ।
यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको गरुडा र देवाही गोनाहीमा एमालेले जित हात पारेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ ।
गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिका जितेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो।