वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रममा नै छ । उक्त निर्वाचनबाट ३५ हजार २२१ जनप्रतिनिधीहरू निर्वाचित (निर्विरोध समेत) हुनुपर्नेमा केही स्थानीय तहका वडा सदस्य पदहरूमा मनोनयन नै नपरेको हुनाले अन्तिम सङ्ख्या केही कम हुन सक्नेछ ।
निर्वाचन आयोगले सोमबार साँझसम्म ३४ हजार ४५० जनप्रतिनिधीहरू निर्वाचित भएको जनाएको छ ।
निर्वाचनमा सहभागी भएका दलहरूमध्येमा स्वतन्त्रसहित २५ दलका उम्मेदवार निर्वाचित भएका छन् । नेपाल सद्भावना पार्टीका उम्मेदवारले एउटा वडाको सदस्य पद मात्र जित्न सफल हुँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ज र नेपाली कांग्रेस (बी.पी.) ले २/२ वटा वडाअध्यक्षसहित सिंगल डिजिट (९ वा सो भन्दा कम ) मा उम्मेदवारहरू जिताउन सफल भएका छन् ।
त्यस्तै गरी नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टी , र रमेश खरेलको नेपाल सुशासन पार्टीले १/१ वटा वडाअध्यक्षसहित सिंगल डिजिटमा जनप्रतिनिधिहरू जिताउन सफल भए।
सिंगल डिजिटमा वार्ड सदस्यमात्र जिताउन सफल भएका अर्का दुई पार्टी हुन् नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी र बहुजन एकता पार्टी नेपाल ।
यी त भए साना पार्टीका कुरा अब लागौं ठूला दलहरूतर्फ नेपाली कांग्रेसले ३९.३०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३३.८८, नेकपा (माओवादी केन्द्र) १४.५२, जनता समाजवादी पार्टी, नेपाल ४.३०, नेकपा (एकिकृत समाजबादी) २.८२, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १.६५, स्वतन्त्र १.११ र बाँकी अन्य १८ दलहरूको कूल २.४३ प्रतिशत जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।
सङ्ख्यात्मक रुपमा हेर्दै नेपाली कांग्रेसबाट ३१९ पालिका प्रमुख (अध्यक्ष सहित) २९५ उपप्रमुख (उपाध्यक्षसहित), २ हजार ६१७ वडा अध्यक्षसहित १३ हजार ५३८ जना जनप्रतिनिधिहरू निर्वाचित भएका हुन् । पालिका प्रमुखमा निर्वाचित भएकामध्ये ८ जना महिला हुन् भने उपप्रमुखमा निर्वाचित भएकामध्ये ७१ जना पुरुष हुन् ।
दोस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २०० पालिका प्रमुख, २२८ पालिका उपप्रमुख, २ हजार २९९ वडाअध्यक्षसहित ११ हजार ६७१ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।एमालेबाट पालिका प्रमुखमा १० जना महिला निर्वाचित हुँदा उपप्रमुखमा निर्वाचित हुने पुरुषको सङ्ख्या २४ छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रबाट ३ महिलासहित १२० जना प्रमुख पदमा र ६५ पुरुषसहित १२८ जना उपप्रमुखमा निर्वाचित हुँदा १ हजार ४४ जना वडाअध्यक्षमा निर्वाचित भएका छन् । वडा सदस्यसहित माओवादी केन्द्रबाट ५ हजार ३ जना निर्वाचित भएको आयोगले विवरणले देखाउँछ । सो पार्टीबाट प्रमुख पदमा निर्वाचित हुने तीनैजना महिला गाउँपालिका अध्यक्ष हुन् । नगरप्रमुखमा उक्त पार्टीबाट सबै पुरुषमात्र निर्वाचित भएका छन् ।
चौथो स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट २९ पालिका प्रमुख र ३० उपप्रमुख, २८४ वडाअध्यक्षसहित एक हजार ४८१ जना निर्वाचित भएका छन् । यस पार्टीबाट प्रमुख पदमा एकजना पनि महिला निर्वाचित भएनन् । उपप्रमुखमा निर्वाचित भएका ३० जनामध्ये ४ जना मात्र पुरुष हुन् बाँकी २६ जना महिला उम्मेदवाहरू नै उपप्रमुख पदमा निर्वाचित भएका हुन् ।
कूल जनप्रतिनिधिहरू निर्वाचित सङ्ख्याको आधारमा पाँचौ नम्बरमा रहेको नेकपा एकीकृत समाजबादीबाट १८ पालिका प्रमुख २१ उपप्रमुख १८७ वडा अध्यक्षसहित ९७० जना जनप्रतिनिधहरू निर्वाचित भएका छन् । यस पार्टीबाट निर्वाचित भएका १८ पालिका प्रमुखमध्ये हेटौँडा उपमहानगरको प्रमुख पदमा निर्वाचित मीना कुमारी लामा एकमात्र महिला हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट १५ प्रमुख ११ उपप्रमुख ६२ वडाअध्यक्ष सहित ३०२ जना जनप्रतिनिधीहरु निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सातौ नम्बरमा रहेको छ । यस पार्टीबाट निर्वाचित हुने उम्मेदवारको सङ्ख्या भन्दा स्वतन्त्ररुपमा निर्वाचित भएका जनप्रतिनिधीहरूको सङ्ख्या बढी छ । राप्रपाबाट ३०२ जना निर्वाचित भएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका ३८१ जना निर्वाचित भएका छन् । प्रमुख पदमा पनि स्वतन्त्रबाटै उम्मेदवारी दिएकाहरूले राप्रपाभन्दा बढी सिट जित्न सफल भएका छन् ।
राप्रपाबाट ४/४ पालिका प्रमुख ६२ वडा अध्यक्ष सहित ३०२ जना निर्वाचित भएका हुन् । पालिका प्रमुख र वडाअध्यक्षमा राप्रपाबाट निर्वाचित हुने सबै पुरुष हुन् ।
त्यस्तै सत्ता गठबन्धनभित्रै रहेको अर्को दल राष्ट्रिय जनमोर्चाले ४ पालिका प्रमुख, ३ उपप्रमुख, २६ वडाअध्यक्ष सहित १५९ जना जनप्रतिनिधीहरू निर्वाचित गराउँदै आठौ पार्टी बन्न पुगेको छ । सत्ता गठबन्धनमा भएतापनि यस पार्टीबाट मन्त्री भने छैनन्।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पालिका प्रमुखमा राप्रपा समान सिट जितेको छ । तीन उपप्रमुख १४ वडाअध्यक्षसहित ९९ जना जनप्रतिनिधीहरू यस पार्टीबाट निर्वाचित भएका छन् ।
सिके राउतको जनमत पार्टी (जपा) बाट दुई पालिका प्रमुख एक उपप्रमुख १८ वडाअध्यक्षसहित ९३ जना जनप्रतिनिधीहरू निर्वाचित भएका छन् ।
सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको विवेकशील साझा पार्टीबाट भने एक/एक जना प्रमुख र उपप्रमुख, दुई वडाअध्यक्षसहित ११ जना निर्वाचित भएका छन् ।