निकै चासोका साथ हेरिएको भरतपुर महानगरको प्रमुख पदमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल फराकिलो जिततर्फ अग्रसर भएकी छिन् ।
महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० हजार बढीको अग्रता हासिल गरेकी छिन् । उनले ४४ हजार ३०५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १७९ मत ल्याएका छन् । सुवेदीभन्दा दाहालको मत १० हजार १२६ ले बढी हो ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भूईँकटहर चुनाव चिह्नमा १३ हजार ५१५ मत खसेको छ ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी १८ हजार ४२२ मतले अगाडि छन् । उनले ४५ हजार ४६८ मत पाउँदा एमालेको समर्थनमा चुनाव लडेकी राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छन् ।
हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ । भरतपुरमा १ लाख २७ हजार ८३९ मत खसेको थियो । अब १७ हजार मत गन्न बाँकी छ ।