
मोरङको सुन्दरहरैंचा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नगर प्रमुखमा केदारप्रसाद गुरागाईं र उपप्रमुखमा अकली चौधरी निर्वाचित भएकी हुन्।
गुरागाईं सत्तारूढ गठबन्धनतर्फ कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै निर्वाचित भए। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याए भने निवर्तमान नगरप्रमुख ढकालले २० हजार ६ सय ७८ मत ल्याए।
उनी अघिल्लो पटक नेपाली कांग्रेसका ढकालसँगै ९६८ मतान्तरले पराजित भएका थिए।
उपप्रमुखमा एमालेकै अकली चौधरी निर्वाचित भइन्। उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचा नगर प्रमुखमा कांग्रेसबाट ढकाल र उपप्रमुखमा एमालेकी धनमाया तामाङ निर्वाचित भएकी थिइन्।