स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनबीच उपमहानगर भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा सातवटा उपमहानगरको प्रमुख परेको थियो ।
धरान इटहरी कलैया बुटवल तुलसीपुर नेपालगन्ज धनगढी को प्रमुख पद गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको भागमा परेको भएतापनि यो समाचार तयार गर्दासम्म दुईवटा उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी भइसकेका छन् भने एक उपमहानगरमा एमाले विजयी भएको छ ।
धरान र धनगढीमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । धरानमा लौरो चुनाव चिह्नका हर्कराज राई विजयी हुँदा धनगढीमा आँप चुनाव चिह्नका गोपाल हमाल विजयी भए । त्यस्तैगरी कांग्रेसकै भागमा परेको बाराको कलैया उपमहानगरमा पनि एमालेका उम्मेदवार विजयी भए ।
धनगढीमा गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै गोपाल हमाल १२ हजार ४८ मतान्तरका साथ विजयी हुँदा धरानमा किशोर राईलाई ४ हजार ७६२ मतको अन्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भए । त्यस्तैगरी कलैया उपमहानगरमा नेपाली कांग्रेसका राजेश राय यादवलाई ५ हजार ५९९ मतले पछि पार्दै नेकपा एमालेका विनोदप्रसाद साह २४ हजार १३९ मतले निर्वाचित भए ।
आफ्नो भागमा परेका मध्येमा तीनवटा उपमहानगर प्रमुख पद गुमाइसकेको कांग्रेसले अर्को पनि गुमाउने सक्ने देखिएको छ । तीन उपमहानगर गुमाइसकेको कांग्रेसले दाङको तुलसीपुर उपमहानगर पनि गुमाउने खतरा बढेको छ ।
तुलसीपुरमा मतगणना जारी छ । जारी मतगणनामा कांग्रेसबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई एक हजार २८७ मतले पछि पार्दै एमालेका मेयर उम्मेदवार टिकाराम खड्का अघि लागेका छन् ।
तुलसीपुर उपमहानगर पनि गुमाउने हो भने कांग्रेसले गबन्धनबीच भागबन्डा हुँदा पाएको सात मध्ये चार उपमहानगर गुमाउने छ ।