स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार (वैशाख ३०) भएको मतदानको नतिजा सार्वजनिक हुने क्रम जारी छ ।
अहिलेसम्म ४६४ स्थानीय तहको नतिजा सार्वजनिक भैरहँदा ६ स्थानको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरूले जित हाँसिल गरेका छन् । नेपाली कांग्रेसले २१० पालिका प्रमुखमा जित हाँसिल गर्दा नेकपा एमाले १३० पालिका प्रमुखसहित दोस्रो र माओवादी केन्द्र ९१ पालिका प्रमुखसहित तेस्रो स्थानमा छन् ।
काठमाडौं महानगरसहित धरान र धनगढी उपमहानगरमा भने राजनैतिक दलहरूलाई स्वतन्त्र उम्मेदवारहरू भारी परिरहेका छन् ।
काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साह तीव्र रफ्तारमा अगाडि बढिरहँदा धनगढीमा गोपाल हमाल पनि विजयको यात्रामा लम्किरहेका छन् । यस्तै धरान उपमहानगरमा पनि लौरो चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई अरूलाई पछि पार्दै अगाडि बढिरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा बालेनले १७६४३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थपित ९११० मतले पछ्याइरहेका छन् । उनीहरूबीच आठ हजार ५३६ मतको अन्तर रहेको छ ।
धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरबढीको अग्रता कायम राखेका छन् । हमालको चुनाव चिह्न ‘आँप’ ले ११३१२ मत पाउँदा दोस्रो नम्बरमा रहेका सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका नृपबहादुर वड ५४९० मतका साथ हमाललाई पछ्याइरहेका छन् । हमाल वडभन्दा पाँच हजार ८२२ मतले अगाडि छन् ।
यस्तैगरी धरान उपमहानगरपालिकामा पनि लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई सत्ता गठबन्धन र एमालेलाई भारी पर्दै गइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले ८१४० मत पाउँदा गठबन्धनतर्फ नेपाली कांग्रेसका किशोर राईले ८१२६ मत ल्याएका छन् । उनीहरूबीच १४ मतको अन्तर रहेको छ ।
त्यस्तै निकै चासोका साथ हेरिएको भरतपुर महानगरमा पनि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ‘भूईँकटहर’ चुनाव चिह्नले पाँच हजार हाराहारीमा मत पाएको छ ।