नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा सत्तारुढ गठबन्धनलाई पछि पार्दै एमालेले सुरुवातदेखि नै लिएको अग्रता कायम राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदमा एमालेका उम्मेदवार गोपाल चन्द्र बुढाथोकीले गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बुढाथोकीलाई १९१ मतले पछि पारेका हुन् ।
हालसम्म दुई हजार ७२३ मत गणना हुँदा एमालेका उम्मेदवारले ११६२ मत पाएका छन् भने गठबन्धनतर्फ रुख चिह्नमा ९७१ मत परेको छ । सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश दाहालले १४७ मत ल्याएका छन् ।
उपप्रमुख पदमा एमालेकी मीना कुमारी पोख्रेल दोब्बरभन्दा बढी मतले अगाडि छिन् । यसअगाडि उपप्रमुख नै रहेकी पोखरेलले १०८२ मत पाउँदा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले ५११ मत ल्याएका छन् ।
राप्रपाकी सबिना बजगाईले ३३९ मतका साथ गठबन्धनका उम्मेदवारलाई पछ्याइरहेकी छन् ।
कूल ९० हजार २०२ मतदाता रहेको मेचीनगरमा ७० दशमलव २२ प्रतिशत अर्थात ६३ हजार ३३९ मत खसेको छ । यो पालिकामा प्रदेश कमिटीले सिफारिस गरेको नगरप्रमुखलाई हटाउन केन्द्रबाट हस्तक्षेप गरिएको थियो ।
महामन्त्री शर्माको गृहनगर भएको कारण मनोनयन दर्ता गर्ने दिन सिटौंला समूह नजिक भनिएका केशवकुमार पाण्डेलाई हटाएर नगरप्रमुखमा ईन्द्रबहादुर बुढाथोकी नै नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षरसहित परिपत्र पुगेको थियो ।