पार्टीहरू ‘टसको मस’ नहुँदा गोरखामा गठबन्धन करिब टुङ्गिएको छ । अन्तिम निष्कर्ष निकाल्न शनिवार बिहान बसेको बैठक पनि भागबन्डामा कुरा नमिल्दा विना निष्कर्ष टुङ्गिएको हो ।
अब सत्ता गठबन्धनको बैठक पुनः नबस्ने गरी टुङ्गिएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन दलहरुबीच कुरा मिलेन ।
अव गठबन्धन भित्र जो-जसलाई आवश्यकता छ, सोही अनुसार गठबन्धन गर्न पाउने बाटो खुल्यो,’ उनले भने, ‘४ दलको बैठक अब बस्दैन ।’ श्रोतका अनुसार अधिकांश पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । त्यसैले जनता समाजवादी गठबन्धनबाट बाहिरिएको हो ।
शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी गरेका थिए । ‘कुनै बैठकमा नराम्रो भएन । तर कुनै बैठकले पनि निष्कर्ष निकाल्न सकेन,’ माओवादी जिल्ला अध्यक्ष लेखबहादुर थापाले भने, ‘यसरी निर्णय नहुने भएपछि अवस्था अनुसार दुई वा दुई भन्दा बढी दलहरू मिलेर जान सक्छन् । जिल्लाबाट दबाब हुँदैन ।’
गोरखामा कांग्रेसले १ नगरपालिका सहित ७ पालिका र ४५ वडामा दाबी गरेको छ । यस्तै, माओवादीले १ नगरपालिका सहित ५ पालिका र ४५ वडामै दाबी गरेको छ भने जनता समाजवादीले १ नगरपालिका सहित २ पालिकामा दाबी गरेको छ । सहमति ननिस्किएपछि आ-आफ्नो दलबाट उम्मेदवार छान्ने र मनोनयनमा पठाउने सहमति भएको थापाले बताए ।