एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।
घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।
जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याए ।
जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए ।
०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।
न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।