भरतपुरमा रेणु दाहाललाई मेयर नदिए गठबन्धन तोड्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनी दिएका छन् ।
भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन तोड्न सक्ने प्रचण्डको भनाईलाई उदृत गर्दै माओवादीका एक नेताले भने ।
उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपुरमा मेयर उठेरै छाड्ने बताए ।
चितवन कांग्रेसको केही दिनअगाडि बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।
गठबन्धनमा बनाउन मूख्य भूमिका खेलेका माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर पदमा दाबी गरिरहेका छन्।
माओवादीले भरतपुरसहित कम्तीमा दुई वटा महानगरपालिका दाबी गरिरहेको छ। तर भरतपुर चाहिँ माओवादीले नछाड्ने अवस्थामा पुगेको छ। माओवादीका नेताहरुले पनि त्यसलाई प्रतिष्ठाको विषय बनाएका छन्।
भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा नेपाली कांगेस, वीरगञ्जमा जनता समाजवादी पार्टी जसपा, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेस र पोखरामा नेकपा एस पार्टीको भागबण्डा गर्ने गरी माओवादी केन्द्रको प्रस्ताव पास भएको थियो।
सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठबन्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको ती नेताले बताए । कांग्रेस लचिलो भएन भने गठबन्धन दुर्घटनामा जान सक्ने ती नेताको भनाई छ ।
अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो ।
कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो ।
पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।
तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन ।
भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै ।