मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन्।
बालिकाका अभिभावकहरूले विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन्।जाहेरी पछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई प्रहरीले खोजी गरीरहेको प्रहरी निरीक्षक दासले जानकारी दिए।
विद्यालयमा घटना भएपछि उनीहरू हाल बिदा लिएर बसेका छन्। निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए पनि उनीहरू फरार रहेको बताए । यी तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए।
विद्यार्थीहरूले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्।
निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो। घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन्।
विद्यालयमा उनीहरूले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरेपनि पीडित विद्यार्थीहरू शिक्षकलाई कारबाही माग गर्दै तोडफोडमा उत्रिएका थिए।