लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शिक्षक मनोज पौडेलमाथि चार वर्षअगाडि पनि आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा सामाजिक शिक्षा पढाउने पौडेलमाथि २०७४ साल फागुनमा कक्षा ५ का विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो ।
त्यसबेला सबै छात्राले निवेदन दिएपछि विद्यालयले छलफल आयोजना गरेको थियो । छलफलमा उनले खुट्टा ढोगेर माफी मागे । उनले मौखिक र लिखित रूपमा माफी पाए । विद्यालय व्यवस्थापन समितिले आइन्दा यस्तो नगर्ने उल्लेख गरेको कागज गराएर जोगायो । घटना खासै बाहिरिएन ।
तर, चार वर्षपछि शिक्षक पौडेलले फागु पूर्णिमा (होली) मा आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रालाई उनैको घरमा पानी खाने निहुँमा उनले यौन दुर्व्यवहार गरे । शिक्षक पौडेल र ती बालिकाको घर नजिकै पर्र्छ । आफ्ना ‘गुरु’ले घरमा कोही नभएको मौकामा पारी पानी मागेर हात समातेर जिउ मुसार्ने काम गरेपछि ती छात्राले असहज महसुस गरिन् । सामाजिक शिक्षा पढाउने शिक्षकको असामाजिक ‘हर्कत’ थाहा पाएपछि उनी चिच्याइन् । स्थानीयको फेला पर्नुअघि नै शिक्षक पौडेल त्यहाँबाट भाग्न सफल भए ।
शुक्रबार र शनिबार बिदाको दिन भएका कारण विद्यालय बन्द भयो । आइतबार विद्यालय खुल्यो । कक्षा सुरु नभइकन ती छात्राले आफूमाथि शिक्षकले गरेको यौन दुर्व्यवहार अन्य सहपाठीसँग सुनाइन्, विद्यालय प्रशासनसँग कुरा राखिन् । उनले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई यसअघि पनि पटक–पटक आफूलाई गलत उद्देश्यले छुने गरेको भन्दै शुक्रबारको घटनाबारे बेलिबिस्तार लगाइन् ।
प्रअ मिश्रले सबै शिक्षक र कर्मचारीलाई स्टाफ कोठामा बोलाए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् वडा ५ का अध्यक्ष भूमसूर्य मगर र नगर उपप्रमुख कृष्णकुमारी निरौला पोखरेललाई पनि बोलाइयो । सबैले शिक्षक पौडेलको राजीनामा मागे । उनी राजीनामा दिएर भाग्न तयार भए । तर त्यसबेलासम्म विद्यार्थी विरोधमा उत्रिइसकेका थिए, उनीहरूसँगै अभिभावक, स्थानी, आमा समूहको भिड लागिसकेको थियो ।
विद्यालयमा तनाव उत्पन्न हुने अवस्था आएपछि लेटाङ–५ का वडाध्यक्ष मगरले प्रहरीलाई डाके । तर आमा समूह र अभिभावकले भने पौडेललाई कालोमोसो दलेर जुत्ताको माला लगाई नगर परिक्रमा गरेर प्रहरीलाई बुझाउन आग्रह गरे । शिक्षक पौडेललाई भिडबाट जोगाउनका लागि वडाध्यक्षले प्रहरीलाई बोलाइसकेका थिए । शिक्षक पौडेल एमालेनिकट हुन् । नगर उपप्रमुख र वडाध्यक्ष पनि एमालेबाट विजयी जनप्रतिनिधि हुन् ।
लेटाङ झडप प्रकरण : विद्यालयमा करोडको क्षति, पठनपाठन अनिश्चित
मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको झडपका...
सोमबार, चैत ७ २०७८बारम्बार त्यस्ता घटनामा मुछिने शिक्षकलाई कानुनी कारबाही नगरी मिलापत्र गराउने योजना प्रतिनिधिको रहेको एक स्थानीयको आरोप छ । छलफलका क्रममा सोधपुछ गर्दा शिक्षक पौडेलले आफूले यौन दुर्व्यवहार गरेको स्वीकार गरेनन् । बरु प्रमाण देखाउन चुनौती दिएका थिए । एमाले निकट रहेका शिक्षक पौडेललाई जोगाउन एमालेबाट निर्वाचित वडाध्यक्ष र उपमेयर लागे । उनीहरूले मिलापत्र गराउने प्रयास गरे ।
‘यो शिक्षकले यसो गरिरहेको छ भनेर पहिले पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हामीले भनेकै हौँ । हामीले शिक्षकलाई कारबाहीको दायरामा ल्याऊँ भनेका थियौँ । तर उहाँहरूबाटै गल्तीको सुरुवात भएको छ । बेलैमा उहाँहरूले कदम नचालिदिएका कारण घटना भयो,’ मोरङको लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईको भनाइ छ ।
‘गुरु मानेको व्यक्तिले दानवीय व्यवहार गरे । पटकपटक विद्यालयलाई जानकारी दिइएको थियो । हामीले सचेत बनाएकै हो । तर यहाँ घटना ढाकछोप गर्ने प्रवृत्ति देखियो । हुन त यस विषयमा बेग्लै छानबिन होला र दोषी कारबाहीको भागेदार हुनुपर्ला,’ उनी भन्छन् ।
भित्र छलफल चलिरहँदा बाहिर भिड जम्मा हुनेक्रममा थियो । पौडेललाई सकुशल भगाउन सम्भव थिएन । दिउँसो करिब डेढ बजेतिर एक प्रहरी मोटरसाइकलमा पौडेललाई लिन विद्यालय पुगेका थिए । तर त्यहाँको भिड देखेर उनी रित्तै फर्किएका थिए । उनी फर्किएको केही बेरमा थप प्रहरी आइपुग्यो । प्रहरीले आरोपितकै संरक्षण गर्न लागेको आशङ्कामा भीडले दुइटा सवारी साधन चौरीमा ल्याएर जलायो ।
विद्यार्थी र अभिभावकको आन्दोलन लम्बिँदै जाँदा बेलुकातिर गाउँभन्दा बाहिरका मान्छे पनि आए । शिक्षकलाई जोगाउन खोजिएको भन्दै आक्रोशित भिडले स्कुलमा तोडफोड र आगजनी गरे । प्रहरीको सङ्ख्या थोरै थियो । यसैले पनि प्रहरी पुग्नेबित्तिकै शिक्षकलाई पक्राउ गरेको भएमा यस्तो घटना हुने सम्भावना कम हुन्थ्यो ।
आइतबार दिउँसोसम्म सामान्य रहेको घटनाले भने बेलुकाबाट राजनीतिक रूप लिएको थियो । शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र प्रहरीबीच आइतबार दिनभर घम्साघम्सी भयो । झडप साँझ ८ बजेसम्मै भयो । शिक्षक, कर्मचारी र जनप्रतिनिधि सबैलाई कोठामा थुनेर आक्रोशित भीडले ढुङ्गामुढा गरेको थियो ।
प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्दा पनि भीड तितरबितर भएन । ८ बजेतिर माहोल साम्य भएपछि शिक्षकलाई लिएर प्रहरीको गाडी फर्किएको थियो । घटनास्थलबाट पैदल इलाका प्रहरी कार्यालय लेटाङ आउँदै गरेको टोलीमाथि भने बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको थियो । नसामा रहेको स्थानीयको टोलीले पछाडि रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो ।
स्कुलदेखि करिब एक किलोमिटर दक्षिण वडा कार्यालय नजिकको धराने चोकको चौरस्तामा भेला भएकाको भीडले पैदल हिँड्दै गरेकी श्रेष्ठलाई प्रहरी समूहबाट थुतेर घाँटीमा चाक्कु प्रहार गरेको थियो । जसबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भयो ।
उर्मिला विराटनगरस्थित प्रहरी गणबाट जवान श्रेष्ठ सोही दिनमात्रै लेटाङ पुगेकी थिइन् । २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठले केही समयअगाडि मात्र विवाह गरेकी थिइन् । २६ वर्षीया उर्मिलाका दाइ भुवन श्रेष्ठ, भाउजू मीन श्रेष्ठ र श्रीमान नवीन श्रेष्ठ पनि प्रहरी सेवामा छन् ।
उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीनसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो । इलाममा कार्यरत नवीन श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर पुगेका थिए । सोमबार उर्मिलालाई कोसी अस्पतालमा शोक बिदा गरिएको थियो । प्रहरीले उनको शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाएको छ । घटनामा संलग्नताको आशङ्कामा प्रहरीले सोमबार नौ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।
लेटाङ झडप प्रकरण : सामाजिक पढाउने शिक्षकको ‘असामाजिक हर्कत’ले निम्त्याएको घटना !
होलीको दिन (शुक्रबार) मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा सामाजिक...
सोमबार, चैत ७ २०७८यता, गृहमन्त्री बालकृष्ण खाँणले सोमबार नै उर्मिलाका श्रीमान् नवीनलाई फोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले राहत दिने बताएका छन् । प्रदेश १ सरकारले पनि उर्मिलाको हत्यामा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता जनाइसकेको छ ।