कमै मान्छे होलान्, जसले विदेशमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर बिजनेस गर्ने साहस राख्छ । नेपालमै पढेका शिक्षित युवाहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश हानिन्छन् । झन् विदेशमा पढेर त्यहाँको सुविधा भोग गर्न पल्केकाहरू नेपाल फर्किएर बिजनेसमा हात हाल्न जोखिम मान्छन्, यहाँको राजनीतिक ‘गन्जागोल’ बिजनेसका लागि चुनौती भन्ठान्छन् ।
त्यसबाहेक पनि नेपालमा उद्योग–व्यवसाय गर्न अनेकन् अवरोध छन् । नेपालको लामो सशस्त्र द्वन्द्व र राजनैतिक अस्थिरताले देशलाई समस्यामा पार्दा उद्योगधन्दाहरू रुग्ण अवस्थामा छन् । जसले गर्दा उद्योगीहरू धराशायी बनेका छन् र उद्यमशीलता पलायन भइरहेको अवस्था पनि छ ।
यसैले पनि धेरै नयाँ पुस्ताहरू आज नेपालमा बस्ने अवसरै छैन भनेर विदेश पलायन भइरहेका छन् । तर एकता गोल्छा एउटा त्यस्तो नाम हो, जसले बेलायतमा अध्ययन गरेर नेपालमा बिजनेस हाँकिरहेकी छन् । उनलाई लाग्छ हाम्रो देश नेपाल उद्यमशीलताका लागि अवसरै–अवसर भएको देश हो । यहाँ पनि केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैनन् ।
इङ्गल्यान्डमा अध्ययन अनि दुई वर्ष भारतीय आइटी कम्पनीमा जागिर गरेकी उनी विदेशमै पनि उद्योग–व्यवसाय चलाउन सक्थिन् । परिवारबाट बिजनेस गर्ने कुरामा ‘फूल सपोर्ट’ छँदै थियो । तर उनी नेपालमै कम्पनी खोल्ने योजना बुनेर सन् २०१६ मा स्वदेश फर्किइन् ।
उमेरले ३२ पुगेकी उनी ४० कर्मचारीसहितको एउटा आइटी कम्पनीलाई सफलताको दिशा दिइरहेकी छन् । उनी औद्योगिक घरानियाँकी युवा पुस्ता हुन् । उनी सदस्य भएको गोल्छा परिवार (गोल्छा अर्गनाइजेसन) नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो ।
गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएको परिवार हो । जुन सिङ्गो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यापारमै समर्पित छ । त्यसमध्येका एक हुन्, राजकुमार गोल्छा । जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमार गोल्छाकी छोरी हुन्, एकता ।
विदेशमा लिएको उच्च शिक्षाको सहायतामा एकताले आफ्ना बाबाकै बिजनेसमा सहयोग पुर्याउन सक्थिन् । तर उनी आफैँ केही फरक गरेर चिनिन चाहन्थिन् । यसैको फलस्वरूप सन् १६ मा उनले डेल्टाटेक नामक आइटी कम्पनी खोलेर सञ्चालन गर्न थालिन् । आज उनको कम्पनीसँग थुप्रै देशका नामी उद्योगहरू जोडिएका छन् । र एकता नेतृत्वको डेल्टाटेकबाट यसमा आबद्ध भएका सबै कम्पनी सन्तुष्ट पनि छन् ।
‘मेरो परिवार नेपालको उद्योग–व्यापारमा ठुलो योगदान दिएको परिवार हो,’ उनी भन्छिन्, ‘बुबा अझै पनि सोही काममा समर्पित हुनुहुन्छ, म पनि छु । मैले बुबाकै बिजनेसमा सघाउन सक्थेँ । तर मैले आफ्नै कम्पनी थालेँ । धेरैले मलाई किन जोखिम मोलेको भनेर सोध्नु पनि भयो । तर मलाई जोखिम मोल्नमै मज्जा लाग्छ । किनकि, रिस्कबिनाको उपलब्धि पनि फिका हुन्छ ।’ तथापि, उनले अप्रत्यक्ष रूपमा भए पनि बुबाको बिजनेसमा सहयोग गरिरहेको बताइन् ।
हो, नेपालमा आइटी कम्पनीका लागि अनेकौँ चुनौती छन् । उनी यो कुरामा जानकार पनि छिन्, कि नेपालमा एजुकेसनको लेबल धेरै तल भएकोले अझै धेरैले टेक्नोलोजी प्रयोग गर्ने गरेका छैनन् । धेरैमा टेक्नोलोजी भनेको झन्झटिलो र खर्चिलो हुन्छ भन्ने गलत धारणा छ । धेरै कमले मात्र टेक्नोलोजीले जीवन झन्झटिलो नभएर झन् सहज बनाउँछ, खर्चिलो नभएर मितव्यायी हुन्छ र यसले समयको बचत पनि गराउँछ भन्ने बुझेका छन् ।
सबैमा टेक्नोलोजीको चेतना जगाउन र टेक्नोलोजीसँगको अभ्यासमा अभ्यस्त बनाउन पनि आइटी कम्पनी थालेको उनको भनाइ छ । ‘जब मानिसहरूको एजुकेसन लेबल बढ्दै जान्छ धेरैभन्दा धेरैले यसको महत्त्वलाई बुझ्नेछन् र नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगमा दक्ष हुँदै जानेछन्,’ उनी भन्छिन् ।
यसरी सुरु भयो डेल्टाटेक
एकताले स्कुले शिक्षा विराटनगरको डिएभी स्कुलबाट सकेकी हुन् । त्यसपछि चार वर्ष भारतमा पढिन् । भारतमा ११ र १२ अध्ययन सके पनि उच्च शिक्षाका लागि युके पुगिन् । लन्डनस्थित वारविक युनिभर्सिटीमा म्याथमेटिक्स पढेपछि अक्सफोर्ड युनिभर्सिटीमा थप तीन वर्ष पढेर एमएससी सकिन् । उनको विषय ‘म्याथमेटिकल एन्ड कम्प्युटेसनल फाइनान्स’ हो । पढाइपछि व्यवहारिक ज्ञान हासिल गर्न उनले भारतको एक प्रसिद्ध आइटी कम्पनीमा जागिर खाइन् ।
उनी बाहिर पढे पनि बिजनेसका लागि नेपाल नै फर्किने सोचमा थिइन् । ‘विदेशमा पढ्न गए पनि नयाँ पुस्ताले केही नयाँ सिर्जना गरेर देशको उद्यमशीलता बढाउन सहयोग गर्नुपर्छ भन्ने चाहना ममा थियो,’ उनी भन्छिन्, ‘यसैले पनि मैले बुबाहरूले गरिरहेको उद्योगको पुरानो विरासतलाई सम्हालिनँ । बरु आफ्नै नयाँ केही गरौँ भन्ने ठानेर आफ्नो पढाइ र रुचि अनुकूल आइटी कम्पनी खोलेकी हुँ ।’
विश्वका आइटी कम्पनीलाई चुनौती दिने लक्ष्य
पछिल्लो समय आइटी क्षेत्र बिजनेसका लागि महासागर बन्दै गइरहेको छ । किनकि, अहिले विश्व नै विविधीकरण भइसकेको अवस्था छ । जोखिम मोलेर नयाँ गर्न चाहनेहरूले यो क्षेत्रमा धेरै नयाँ गरेर देखाउन सक्छन् । डेल्टाटेक एप कम्पनी र त्यसमा आबद्ध कर्मचारीबिचको समन्वय गर्ने नेपालको भरपर्दो एप हो, जसले कम्पनीमा प्रविधिमैत्री भई काममा समन्वयकारी भूमिका खेल्छ । फिल्ड सेल्सबेसमा भने डेल्टाटेक नेपालकै पहिलो भएको उनको भनाइ छ ।
‘नेपालमा मात्र नभएर विदेशमा पनि हाम्रा ग्राहकहरू बढिरहेका छन्,’ उनी भन्छिन्, ‘बिजनेस विस्तार हुँदै गएपछि हामीले आफ्नो कार्यक्षेत्र पनि फैलाउन थालेका छौँ । अब हामी सर्भिस प्रोभाइडरमात्र होइन, टेक्नोलोजी निर्माता पनि बन्दै गइरहेका छौँ । हामीले कम्पनीमा दक्ष जनशक्ति धमाधम थपिरहेका छौँ भने ल्याब र बजार प्रबन्धलाई पनि व्यवस्थित गर्दै लादैँछौँ ।’
एकताका अनुसार हाल दुई सयभन्दा बढी कम्पनीहरू उक्त एपमार्फत आफ्ना कामलाई सहज बनाउँदै छन् । नेपाल, भारतदेखि इजिप्टसम्मका राष्ट्रहरूले डेल्टा एप प्रयोग गर्छन् । युरोपमा भने डेल्टाटेकले उपस्थिति जनाइसकेको अवस्था नभए पनि त्यहाँका केही राष्ट्रहरूसँग कुरा भइरहेको उनको भनाइ छ ।
‘अहिले हामीले नेपाल र विदेशका गरी दुई सयभन्दा बढी कम्पनीसँग काम गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘बजार प्रबन्धतिर आफ्नो उपस्थिति राम्रो देखाइएको छ यो एपले । एउटा सेल्सम्यानलाई मात्र नभएर पूर्ण कम्पनी–उद्योगलाई सहज बनाउँछ । उद्योगमा कर्मचारीबिच प्रभावकारी भूमिका हुँदा काममा पनि तीव्रता आउँछ ।’
मूल्यमा सुलभ, काममा सहज र अफलाइन पनि चलाउन सकिने भएका कारण पनि यो एप चलाउन त्यति खर्चिलो नभएको उनको भनाइ छ । अरू देशमा यस्तै प्रकृतिका काम गर्ने एप्सहरूजस्तै भरपर्दो रहेको बताउने एकताले आइटी सेक्टरमा नेपालबाटै विश्वलाई चुनौती दिने लक्ष्य राखेकी छन् ।
तथापि, नेपाल सरकारले देशमा शिक्षाको लेबल बढाएर सहयोग पुर्याउनु पर्ने एकताको भनाइ छ । किनकि, जति–जति देशमा एजुकेसनको लेबल बढ्दै जान्छ, उति–उति आधुनिक प्रविधि प्रयोग गर्नेहरू बढ्दै जान्छन् र समाज प्रविधिमैत्री बन्दै जान्छ ।