सात वटा कोसी मिलेर बनेको सप्तकोसी नदीको बहावसँगै डुङ्गामा तैरिन्छन्, दशरथ बहरदार । बहना खियाएर नाउमा उनलाई दौडाइरहन्छन् छोरा नवीन बहरदार । उनीहरूको साथमा हुन्छ जाल र माछा बोक्ने टोकरी । माछा पाउने सम्भावित क्षेत्र पुगेपछि दशरथ जालको एक फेरो समातेर नदीमा फ्याँक्छन् । लगत्तै तान्न थाल्छन् ।
जालको सबै फेरो डुङ्गामा तानेपछि उनीहरूका आँखाले नियाल्न थाल्छ । माछा परेमा टोकरीमा राख्छन्, नपरे पुनः त्यही क्रियाकलाप दोहोर्याउँछन् । सानै उमेरदेखि बुबासँग डुङ्गामा धेरै समय बिताएका कारण दशरथ र छोरा नवीन भनेतिरै नाउ पुर्याएर माछा मार्न सिपालु छन् । बिहान केही बेर र साँझतिर उनीहरू माछाको खोजीमा चार घण्टा डुङ्गामा बिताउँछन् ।
दशरथले आफ्ना बुबा विन्देश्वरसँग सिकेको सीप छोरा नवीनलाई सिकाउँदै छन् । अर्थात् उनीहरूको तीन पुस्ता सुनसरीको बराह क्षेत्र नगरपालिका–२ चतरा बसेर सप्तकोसीको माछाले पालिँदै आएको छ । जीविकोपार्जन मात्र नभएर मलाहा समुदायले माछा मारेर मनग्य आम्दानी गर्दै आएका छन् । सो ठाउँमा माछा मारेर कमाइ गर्ने तीन घर छन् । तीनै घरका आ–आफ्नै डुङ्गा छन् ।
डुङ्गाको सहायतामा, जाल थापेर वा बल्छी थापेरै भए पनि आफूहरूले मासिक रूपमा लाखौँ आम्दानी गर्दै आएको दशरथ बहरदार बताउँछन् । सिजनका बेला दैनिक रूपमा १० किलोसम्म माछा मार्ने गरेको बताउँदै उनले प्रतिकिलो पाँच सय रुपैयाँले बेच्ने भएका कारण दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी हुने बताए ।
‘अहिले सिजन भइसकेको छैन तर सिजनमा कम्तीमा पनि १० किलो माछा मार्न सकिन्छ,’ उनी भन्छन्, ‘दिनभरि खट्नु पर्दैन । साँझ–बिहान केही घण्टा डुङ्गा खियाउनु पर्छ । अहिले कम्तीमा पनि सात किलोसम्म मार्न सकिन्छ । माग धेरै छ तर अहिले त्यति धेरै माछा पाउँदैन ।’ कहिलेकाहीँ बल्छी थापेर ठुलठुला माछा मार्न सकिने बताउँदै उनले गत वर्ष बल्छी थापेर एक सय २० किलोको गुँछ माछा पारेको अनुभव सुनाए ।
दशरथले आफ्ना तीन छोरालाई बोर्डिङ शिक्षा दिइरहेका छन् । जेठा छोरा नवीन अहिले हिमालयन बोर्डिङ स्कुलमा कक्षा आठमा पढ्छन् । माइला छोरा पाँचमा र कान्छा छोरा चार कक्षामा पढ्छन् । उनीहरूलाई चाहिने स्कुल फी र शैक्षिक सामग्रीका लागि दशरथलाई कुनै दुःख छैन । माछा मारेर बेचेको आम्दानीले घर खर्च र छोराहरूको पढाइ खर्च पुगिरहेको उनको भनाइ छ । त्यसबाहेक बचत पनि राम्रै हुन्छ । अहिलेसम्म बहरदार समुदायका कोही पनि वैदेशिक रोजगारका लागि अन्य मुलुक गएका छैनन् । यसबाहेक अन्य पेसा नगरेकै भए पनि उनीहरूलाई आफ्नो पेसाले पुगेकै छ ।
उनीहरूको घरपरिवारमा सबैले माछा मार्दैनन् । पुरुष माछाको खोजीमा निस्कँदा महिलाहरू भने चुलो चौकोमै व्यस्त हुन्छन् । माछा मारेर बजार पुर्याउने काम पनि पुरुषकै हुन्छ । महिला भने बेचेर उब्रिएको माछाका विभिन्न परिकार बनाएर बनाउने काममा व्यस्त हुन्छन् । उनीहरूलाई अन्य तरकारी किन्नु परेको छैन, दैनिक माछा नै खाँदा पनि पुगेकै छ ।
‘यही काम अन्य समुदायका मान्छेले व्यावसायिक रूपले गरेकै छैनन्,’ व्यावसायिक रूपमा माछा मार्दै आएका प्रभु बहरदार भन्छन्, ‘हामीले गरेको तीन–चार दशक भइसक्यो । हामीलाई विदेश जानु परेको छैन । यहाँ नै खुसी छौँ ।’
सप्तकोसीमा घट्यो माछा र माछाका विविध प्रजाति
एक दशक अगाडिसम्म पाउँदै आएको माछाको प्रजाति घटेको मलाहा समुदायको गुनासो छ । विषादी हालेर माछा मार्ने प्रवृत्ति र बर्सेनि कोसीमा आउने ठुलठुला बाढीका कारण कोसीका माछा र माछाका विविध प्रजातिमा कमी आएको उनको भनाइ छ । दशकअघिको विनाशकारी सप्तकोसी बाढीले माछा बगाउँदा अहिलेसम्म नदीमा कमै माछा रहेको मलाहा समुदायका अगुवासमेत रहेका दशरथ बहरदार बताउँछन् ।
माछा र माछाका विभिन्न प्रजाति घटेसँगै कोसी क्षेत्रमा बसोबास गर्ने मलाहा, माझी, बहरदार, सरदारलगायतका समुदायको पुर्खौली पेसा सङ्कटमा परेको उनको भनाइ छ । उनका अनुसार सुनसरी र सप्तरी जिल्लाको गरी करिब ३०० परिवार मलाहा, माझी, बहरदारहरू वर्षौँदेखि माछा मार्ने पेसा अङ्गाल्दै आएका छन् । माछा मारेर उनीहरूले चतरा, कोसीको नयाँ पुल, धरान, कोसी व्यारेज, भान्टाबारी, इनरुवा, झुम्का, इटहरी, विराटनगरसम्मको बजारमा बिक्री गर्दै आएका छन् ।
तर सप्तकोसीमा माछा पाउन कठिनाइ भएपछि ती बजारहरूमा कोसीको माछा भन्दै भारतीय माछा बिक्री हुने गरेको बताए । बहरदारले कोसी नेपालको ठुलो नदी भएको र विगतमा कोसीको माछा देशभरि तथा भारतमा समेत प्रख्यात मानिएकोमा हाल केहीलाई छाक टार्न र केहीलाई बेचेर पैसा कमाउन समस्या भएको गुनासो सुनाए । बहरदारले २०६५ सालको कोसी बाढीका कारण र कोसीमै विषादी मिसाएर माछा मार्ने प्रवृत्तिका कारण धेरै माछा लोप भएको बताए ।