झट्ट शीर्षक सुन्दा अपत्यारिलो लाग्न सक्छ । नेपालमा उत्पादन भएको अगरबत्ती विश्वका ४८ देशहरूमा निर्यात हुन्छ भन्दा । तर २०७८ श्रावणदेखि पुष महिनासम्म नेपालमा उत्पादन भएको अगरबत्ती विश्वका ४८ देशमा निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष २०७८-७९ को छ महिनाको अवधिमा नेपालबाट ४ करोड ९८ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको अगरबत्ती निर्यात भएको हो ।
नेपालबाट ७ लाख ९८ हजार ३४ किलो अगरबत्ती निर्यात भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कले नेपालबाट युरोप, अमेरिका र एसियाका ४ दर्जन बढी मुलुकमा अगरबत्ती निर्यात हुने गरेको देखाएको छ ।
यस अवधिमा मूल्य र परिमाणको को हिसाबले सबैभन्दा बढि अमेरिकामा १६ हजार २७८ केजी अगरबत्ती निर्यात गरेर नेपालले १ करोड ९ लाख ४० हजार रुपैयाँ भित्र्याएको देखिन्छ । त्यस्तै गरी स्पेनमा ५९ लाख ४६ हजार रुपैयाँको अगरबत्ती निर्यात भएको छ ।
सूचीको तेस्रो नम्बरमा रहेको ताइवानमा ३९ लाख ८९ हजार रुपैयाँ बराबरको ८ हजार ७२९ किलो अगरबत्ती निर्यात भएको छ भने जर्मनीमा २ हजार ६८ किलो निर्यात गरेर नेपालले ३४ लाख ६७ हजार रुपैयाँ भित्र्याएको छ ।
परिमाणको हिसाबले छिमेकी राष्ट्र भारतमा १३ हजार ३०० किलो अगरबत्ती निर्यात भएको देखिएता पनि मूल्यको हिसाबले त्यो न्यून छ । लिथुनियामा ३४८ केजी अगरबत्ती निर्यात गरेर नेपालले १३ लाख ६ हजार रुपैयाँ भित्र्याउँदा भारतबाट ११ लाख १२ हजार रुपैयाँ आएको देखिन्छ ।
त्यस्तै परिमाणको हिसाबले छिमेकी मुलुक चीनमा सर्वाधिक अगरबत्ती निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यहाँ १७ हजार ६४६ किलो अगरबत्ती निर्यात गरेर २० लाख १७ हजार नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) मा ४१ देशमा अगरबत्ती निर्यात गरेर ६ करोड ३८ लाख ६९ हजार नेपाल भित्रिएकोमा यस वर्षमा परिमाण र मूल्य दुवै बढेको छ ।
पछिल्लो समय विभिन्न पालिकाहरूले अगरबत्ती उत्पादन गर्ने तालिम समेत दिँदै आएका छन् । भारतसँग सीमा जोडिएका जिल्लाहरूमा सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति (बहिरा) हरू अगरबत्ती बनाउने र बेच्ने कार्यमा संलग्न भएर राम्रो आम्दानी गर्न थालेका छन ।
थोरै लगानीमा राम्रो मुनाफा गर्न सकिने घरेलु उद्योगको रूपमा अगरबत्ती उत्पादन बेचबिखन देशभित्र मात्र नभएर विश्वभर लैजान सकिन्छ भन्ने तलको तथ्याङ्कले पनि पुष्टि गर्दछ ।