ब्राउन सुगर कारोबार गर्दैगर्दा पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए।
अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो। लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।
पुस ४ गते बुधबार राति ७ बजे जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोडबाट लाउरेलाई ब्राउन सुगर कारोबारीहरूसँगै पक्राउ गरेको थियो ।
लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन्।
सेलिब्रेटी बन्न ब्राउन सुगरको सहारा !
लाहुरले आफू लागु औषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानक्रममा स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ९० दिन अवधिभित्र आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गर्नेछ ।
लागु औषध कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ । लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको लाहुरे, हाउडे, केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।