चितवन जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।
यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडको बिरामीको उपचार हुँदै आएका छन् । क्यान्सर अस्पतालमा यो समयमा न्यून बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बिरामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।
सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको पौडेलले बताए ।
भरतपुर अस्पतालले हालसम्म रु ११ करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त जोखिम भत्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्पताल विकास समितिले रु ६० लाख जोखिम भत्ता वितरण गरेको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जोखिम भत्ता वितरण गरिएको भए पनि त्यसयता निकासा हुन नसकेको बताए ।
भरतपुर अस्पतालमा रहेका कर्मचारीलाई मासिक रु दुई करोड २५ लाख बराबर तलब खर्च हुने गर्दछ । त्यसको आधा जोखिम भत्ता दिने गरिएको छ । क्यान्सर अस्पतालमा कोभिड वार्डमा कार्यरत चिकित्सक कर्मचारीले पनि साउनयता भत्ता पाएका छैनन् । अस्पतालमा साउन यता कोभिड वार्ड रहेपनि खासै बिरामी बसेको पाइएन । कहिलेकाहीँ बिरामी आउने भएकाले कर्मचारी भने खटिएको अस्पतालले जनाएको छ ।