‘कति भयो तपाईँको उमेर ?,’ केटिएम दैनिकको पहिलो प्रश्नमा अनुज पिटर राईले भने, ‘भो नखुलाऊँ होला ! उमेर सम्झिन मैले चाहिनँ । समलिङ्गीको हितमा थुप्रै काम गर्न बाँकी छ । यसैले आफूलाई जवान नै छु र यो अभियान सकुन्जेल जवान नै सम्झिरहन्छु ।’
उमेर नभने पनि आफूलाई समलिङ्गी पुरुषका रूपमा चिनाउन पाउँदा गौरव गर्छन्, उनी । ‘बहुसङ्ख्यक विपरीत लिङ्गीका रूपमा जन्मेको भए यतै-कतै हराइसकेको हुन्थेँ । तर फरक पहिचानले चिनिन पाएको छु । थोरै समलिङ्गी पुरुषहरूमध्ये एक हुँ म । तर मजस्ता लैङ्गिक अल्पसङ्ख्यकलाई समाजमा स्थापित गराउने म एक अभियन्ता पनि हुँ । समाजका कारण नै घरभित्र थुनिनु पर्ने समलिङ्गीको बाध्यात्मक परिस्थिति अन्य गर्न मेरो जीवनको अन्त्यसम्म लड्ने प्रतिज्ञा गरेको छु ।’
भनिन्छ नि, पहिले आफूले आफूलाई स्विकार्नुपर्छ, त्यसपछि आउँछन् परिवार, समाज र विश्व । ढिलै गरी भए पनि आफूले आफूलाई चिन्न सफल भएका पिटरले आफ्नो परिवारलाई सम्झाइसके, समाजलाई पढाउँदै छन् अब दुनियाँलाई बुझाउने लक्ष्य बोकेका छन् ।
पिटर अध्यापन पेसामा आबद्ध दम्पतीको सन्तानका रूपमा खोटाङको दिक्तेलमा जन्मिएका हुन् । सानै उमेरमा आफूले आफूलाई अरूभन्दा फरक भएको अनुभव गरेको भए पनि पिटरले त्यसबारे राम्रोसँग जान्न पाएका थिएनन् । छात्रको रूपमा कक्षामा रहँदा उनी छात्राभन्दा धेरै छात्रसँगै नै आकर्षित हुन्थे ।
आफ्नो स्वभाव, हाउभाउ र व्यवहार बाल्यकालदेखि नै अरू केटाहरूमा हुनेभन्दा फरक रहे पनि आफू समलिङ्गी हो भन्ने कुरा उनलाई थाहा थिएन । उमेर सानै भएका कारण यस्ता कुरा बुझ्ने अवस्था पनि थिएन उनमा । त्यो समयमा समलिङ्गीबारे खुल्ला रूपमा बहस सम्भव पनि थिएन । अनि त्यसबेला लैङ्गिक अल्पसङ्ख्यकलाई समाजले अहिलेजस्तो स्वीकारिसकेको अवस्था थिएन ।
यसैले पनि उनी आफ्नो परिवार र समाजसँग खुल्न सकेका थिएनन् । अन्य लैङ्गिक अल्पसङ्ख्यकजस्तै उनले पनि आफ्नो लैङ्गिक पहिचान लुकाए । आम केटाहरूभन्दा फरक स्वभाव देखाए पनि उनलाई अरूले जिस्काउन, दुर्व्यवहार गर्न सक्दैन थिए । बुबा प्रधानाध्यापक र आमा शिक्षिका भएका कारण कसैले उनलाई त्यस्तो व्यवहार गर्ने हैसियत राख्दैन थिए ।
डेढ वर्ष केटीसँग सङ्गत गरेपछि समलिङ्गी भएको अनुभूति
खोटाङमा हुर्किएका उनले त्यहाँबाटै व्यवस्थापनमा स्नातक पास गरे । तर पनि परिवार र समाजमा खुलेर आफ्नो लैङ्गिक पहिचानबारे बताएका थिएनन् । पिटरका दिदीबहिनी र भाइ बिहे गरे विदेशतिर हानिएपछि भने उनीमाथि पनि विवाहको दबाब आउन थाल्यो । पिटरमा विवाहबारे कहिल्यै मनमा चाहना पलाएको थिएन ।
तर समलिङ्गी पनि विवाह गरेर खुसी रहेको र सन्तान जन्माएका कारण उनी पनि बिहे गर्न राजी भए । एक युवतीसँग पिटरको विवाहको कुराकानी छिनियो । त्यसपछि विवाह हुने युवतीसँग भेट्ने, घुमघाममा जाने क्रम चल्यो । ती युवतीसँग डेढ वर्ष जति उनी रिलेसनसिपमा बसे तर पनि उनमा खुसीको भाव पैदा हुन सकेन । त्यसपछि भने उनको मनमा आफ्नो लैङ्गिकतासम्बन्धी धेरै प्रश्नहरू उब्जिए । युवतीप्रति ‘इन्ट्रेस्ट’ हुन नसकेपछि उनले त्यो रिलेसनसिप टुङ्ग्याउने निधो ती युवतीलाई सुनाए र छुट्टिए ।
‘फिलिङ आएमा बिहे गर्ने निधो दिन्छु भनेर उहाँसँग सङ्गत गरिरहेँ । हामी साथी भयौँ, रिलेसनमा बस्यौँ । रिलेसन स्ट्रोङ बनाउन हर सम्भव प्रयास गर्यौँ । तर डेढ वर्ष बित्दा पनि ममा फिलिङ आएन । अनि छुट्टिने निधो गर्यौँ । उहाँ पनि खुसी–खुसीसाथ बिदा हुनुभयो,’ उनी विगत सम्झिँदै भन्छन् । आफू समलिङ्गी भएको निष्कर्ष उनले निकाले पनि समाजसँग खुल्न आनाकानी नै गरिरहेका थिए ।
यस्तै क्रममा, सुरज सिंह ठकुरीसँग उनको भेट भयो । सुरजसँगको भेटमा उनले आफ्नो रिलेसनसिप र लैङ्गिक पहिचानबारे सुनाए । उनको कथा सुनेपछि सुरजले कान्तिपुर टिभीमा एउटा अन्तर्वार्तामा पिटरलाई बोलाए । सुरजसँगको अन्तर्वार्ताका क्रममा आफू समलिङ्गी भएको विषय सार्वजनिक गरे ।
त्यसपछि भने परिवार र समाज उनको लैङ्गिक पहिचानबारे जानकार बन्यो । ‘घरमा मैले अहिलेसम्म पनि आफूबारे केही भनेको छैन तर उहाँहरूले मलाई बुझ्नुहुन्छ,’ उनी भन्छन्, ‘स्वीकार्यता नहुने डरका कारण खुल्न सकिनँ । तर घर परिवारबाट मैले उत्तिकै माया र सम्मान पाइरहेको छु । यो नै मेरा लागि स्वीकार्यता हो ।’
‘मिस्टर गे ह्यान्डसम’ हुँदै कलाकारितामा, अनि त्यो फिल्मको अफर
सन् २०१५ मा उनी समलिङ्गी समुदायको हकहितका लागि स्थापित नील हीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) मा आबद्ध भए । सो संस्थामा कार्यक्रम संयोजकका रूपमा कार्यरत रहेका उनले आफूलाई समाजमा लैङ्गिक अल्पसङ्ख्यकका रूपमा चिनाउन दुई वर्ष बिताए ।
सन् २०१७ मा नेपालमा पहिलो पटक आयोजना भएको ‘मिस्टर गे ह्यान्डसम’ आयोजना भएको थियो । घैटौँ नामक संस्थाले आयोजना गरेको सो प्रतियोगितामा उनी ‘सेकेन्ड रनर अप’ भए । समलिङ्गीको हक–अधिकारका लागि लड्न सक्ने जोस आफूमा भर्नका लागि उनी प्रतियोगितामा सहभागिता जनाएका थिए । विभिन्न कारणवश समाजमा खुल्न नसकेका लैङ्गिक अल्पसङ्ख्यकलाई खुल्न र अगाडि आउन प्रेरित गर्न उनले त्यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।
यस्तै, उनले कलाकारकै रूपमा ‘लाभा’ नामक नाटक गरेका थिए । सो नाटक पनि लैङ्गिक अल्पसङ्ख्यकका विषयमा थिए । लैङ्गिक अल्पसङ्ख्यकलाई बाहिर उजागर गरी समाजमा स्थापित गराउनका लागि उनले सो नाटक गरेका थिए । त्यसबीचमै उनलाई एउटा फिल्मको अफर आयो । ठुलै ब्यानरको एउटा फिल्मको प्रस्ताव आए पनि उनले अस्वीकार गरे ।
‘म नाम खुलाउँदिन, तर त्यो फिल्म पछि राम्रै चल्यो पनि,’ उनी भन्छन्, ‘मेरो क्यारेक्टर मलाई ठिक लागेन । लैङ्गिक अल्पसङ्ख्यकलाई गिज्याउने र होच्याउने खालको पात्र बन्नु परेपछि मैले त्यो फिल्म गरिनँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहका मानिसहरूलाई गिज्याउने कुरो ठिक लागेन ।’ त्यहाँ निर्देशकले आफूलाई याैनसँग जोडेको र ‘सेक्सी’ पात्र बनाउन खोजेको उनलाई चित्त बुझेन ।
समाजको सोच बदल्ने विचारमा अग्रसर
लैङ्गिक पहिचान खुलाउने धेरै जना निकै कठिनाइ भोग्न बाध्य छन् । कतिपय घर र समाजबाटै निकाला भएका छन् । वास्तवमा यौनिक व्यवहारबाहेक सबैमा समान छन् समलिङ्गी–तेस्रो लिङ्गीहरू । अरूसरह पढ्न, काम गर्न सक्छन् । तर समाजमा अझै पनि ‘हिजडा’, ‘नपुंसक’ आदि उपनाम दिएर उनीहरूलाई हेला गर्ने प्रवृत्ति कायमै छ । समलिङ्गीले त पहिचान लुकाएरै पनि जीवन अगाडि बढाउन सक्छन् । तेस्रो लिङ्गी महिला–पुरुष भने पहिचानकै कारण थुप्रै क्षति बेहोर्न बाध्य छन् ।
मानवअधिकार त्यो हो– जो जुन व्यवहार चाहन्छ त्यसैअनुसार बाँच्न पाओस् । तर त्यो व्यवहारले समाजमा क्षति नपुर्याओस् । यौनिक अल्पसङ्ख्यकको समलिङ्गी बिहेलाई मान्यता दिइयोस् भन्ने एउटै माग छ, राज्यसँग । तर औँलामा गन्न सकिने व्यक्तिहरूमात्र समलिङ्गी विवाहमा बाँधिएका छन् । त्यसमध्ये पनि धेरैको दाम्पत्य स्थायी भएको पाइँदैन । यसमा सामाजिक र कानुनी दुवै विभेद प्रमुख कारक हुन् ।
नेपाली समाजका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि मात्र नभई अन्य सीमान्तकृत समूहको सशक्तीकरणका लागि उनी लडिरहेका छन् । ब्लु डाइमन्ड सोसाइटीका माध्यमबाट पनि र आफ्नो व्यक्तिगत माध्यमबाट पनि । ‘हाम्रो यो विषय सामाजिक मुद्दा हो, यो आजको भोलि नै परिवर्तन हुन सम्भव छैन,’ उनी भन्छन्, ‘अहिले पनि हामीलाई नेगेटिभ रूपमा लिन्छन् । यौनिक व्यवहारले मात्र हामीलाई हेर्छन् । तर आफ्नो घरमा यस्तो अवस्था आएपछि थाहा हुन्छ, हामी कति अफ्ठेरोमा बाँचिरहेका छौँ ।’
त्यस्ता समूहको अधिकार सुनिश्चित गर्न सीमान्तकृतहरूलाई सङ्गठित गर्ने, विभिन्न फोरममा बहस चलाउने र कार्य योजना तयार पारी त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जस्ता काममा सक्रिय रूपमा संलग्न छन्, पिटर । कानुनी रूपमा दरिलो बन्दा समाजमा आफूहरूलाई हेर्ने नजर पनि फेरिने उनको भनाइ छ । यी र यस्ता विषयहरूमा मिडियामा आवाज उठाउँदै सामाजिक मुद्दा बनाएर यस्ता समस्या समाधान गर्नेतर्फ उनी लक्षित छन् ।
३० भन्दा बढी मुलुकमा स्वीकार, नेपालमा अस्वीकार !
समाजले गिज्याउने डर अनि कानुनी अड्चनका कारण समलिङ्गी विवाह हुन सकेको छैन । समलिङ्गी बिहे गरेर खुल्नेहरू कम छन्, जति युट्युबका केही भ्रामक च्यानलबाट खुलेका कारण झनै ‘बदनाम’ भएका छन् । समलिङ्गी विवाह गर्नेहरूसँगको अन्तर्वार्ता वा समाचारमा यौनसँग जोडिएका विषयमा धेरै ‘टर्चर’ दिने गरिएको देखिन्छ ।
हाल देशमा ३० भन्दा बढी मुलुकहरूले समलिङ्गी विवाहलाई स्वीकार्यता जनाइसकेका छन् । पछिल्लो समय ताइवानले समलिङ्गी विवाहलाई अनुमति दिएको थियो । तर नेपालमा भने समलिङ्गी विवाह कानुनी रूपमा अझै मान्य छैन ।
समलिङ्गी महिलाद्वय प्रेमकुमारी नेपाली र रजनी नेपालीले सन् २००८ मा समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले ‘उमेर पुगिसकेका व्यक्ति सँगै बस्न पाउने’ भनी फैसला गरिदियो । तर समलिङ्गी विवाह भने अस्वीकार्य ठहर गरिदियो ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सहज रूपमा नागरिकता लिन र आपसमा विवाह गर्न पाउने कानुन निर्माण गरिदिन माग गरेको वर्षौँ बितिसकेको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सँगै बस्ने अधिकार राज्य प्रदान गरे पनि विवाहको अधिकार नदिएकोले उनीहरूले समस्या झेलिरहेका छन् । पहिचानका आधारमा सामाजिक रूपमा अपहेलना, विभिन्न प्रकारका शारीरिक पिडा, मानसिक तनावका कारण जीवन अन्धकारको बाटोमा मोडिन बाध्य भएको उनीहरूको गुनासो छ । अझै पनि यौनिक अल्पसङ्ख्यक यस्तै प्रकारका सामाजिक, सांस्कृतिक र कानुनी त्रासबाट गुज्रिरहेका छन् ।
को हुन् समलिङ्गी ?
समान लिङ्ग भएका केटा–केटा र केटी–केटीबीच यौनिक गतिविधि गर्ने नै समलिङ्गी हुन् । समलिङ्गी महिलाले महिलासँगै यौन सम्बन्ध राख्छन् । पुरुष समलिङ्गीले पुरुषसँगै यौन व्यवहार गरेर सन्तुष्टि लिन्छन् । जसरी विपरीत लिङ्गी जोडी एक अर्कासँग नजिकिन उत्तेजित हुन्छन् त्यसै गरी समलिङ्गी पुरुष अर्का पुरुषप्रति आकर्षित हुन्छन् ।
महिलाप्रति कुनै आकर्षण नहुने पुरुषले कसरी यौन–व्यवहार राख्छन् ? यसको सहज जवाफ छ । उनीहरूको मुख्य यौन–व्यवहार एनल सेक्स र ओरल सेक्स हो । उत्तेजित लिङ्ग गुदद्वार र मुखमा प्रवेश गराउने, टङ किस, फोरप्लेजस्ता गतिविधिबाट सन्तुष्टि लिन्छन् ।
अझ स्पष्ट रूपमा यसरी व्याख्या गर्न सकिन्छ–
बटम रुल : पुरुषलाई नै महिला ठानेर उनको गुदद्वार वा मुखमा मैथुन गर्ने ।
टप रुल : केटाको जस्तै मुख मैथुन गर्ने ।
भर्स रुल : केटा–केटी दुवैको भूमिका गर्ने
नोट : बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिकसँग सम्बन्धित खोजमूलक पत्रकारिताका लागि प्रदान गरेको फेलोसिप कार्यक्रम अन्तरगत यो समाग्री प्रकाशन गरिएको हो ।