नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि शेखर कोइरालाविरुद्ध बलियो गठन्धन बन्ने भएको छ । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका प्रत्यासी शेखर कोइरालाबाहेक सबैले पहिलो मत पाउने शेरबहादुर देउवालाई समर्थन गरेका छन् । पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले देउवालाई सहयोग गर्ने भएका हुन् ।
दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । देउवाले सिंह र निधिलाई उनीहरूकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए । अब, निधि, सिंह र गुरुङबाट समर्थन पाएका देउवाको जित निश्चित देखिएको छ भने देउवाका प्रतिस्पर्धी कोइरालाको पराजय निश्चित देखिएको छ ।
मंगलबार बिहान निधि निवासमा भएको छलफलपश्चात दोस्रो चरणमा हुने निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको देउवाका स्वकीय सचित भानु देउवाले जानकारी दिए । त्यसअघि देउवा प्रकाशमान सिंहलालाई समेत फकाउन सफल भएका थिए ।
पहिलो चरणको चुनावमा कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए भने सिंहले ३७१ मत ल्याएका थिए । कोइरालाले एक हजार ७२९ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार देउवाले दुई हजार २५८ मत ल्याएका थिए । विमलेन्द्र निधिले दुई सय ४९ मत ल्याएका छन् । अब सभापतिमा अन्तिम प्रतिस्पर्धा बढी मत ल्याएका देउवा र कोइरालाबीच हुनेछ ।
सभापति पदका लागि दोस्रो चरणको मतदान आज दिउँसो ३ः३० बजे सुरु हुने छ । दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो ३ः३० देखि साँझ ७ः३० सम्म हुनेछ । काँग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।