नेपाली कांग्रेस सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान निधि निवासमा भएको छलफल पश्चात दोस्रो चरणमा हुने निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले यसअगाडि नै देउवालाई समर्थन गरेको घोषणा गरेका थिए ।
पहिलो चरणको चुनावमा देउवाले दुई हजार २५८ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले एक हजार ७२९ मत ल्याएका थिए भे सिंहले ३७१ तथा निधिले दुई सय ४९ मत ल्याएका थिए । अब सभापतिमा अन्तिम प्रतिस्पर्धा बढी मत ल्याएका देउवा र कोइरालाबीच हुनेछ । जसमा निधि र सिंह दुवैको समर्थन पाएका देउवाको जित निश्चित देखिएको छ ।
सभापति पदका लागि दोस्रो चरणको मतदान आज दिउँसो ३ः३० बजे सुरु हुने छ । दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो ३ः३० देखि साँझ ७ः३० सम्म हुनेछ । काँग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।