नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरूलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधवार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले सरोकारवाला पक्षहरूसँग छलफल गरेर परम्परागत नीति नियमहरूलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रूपान्तरणको लक्ष पनि हासिल हुने बताए ।
“यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरूलाई लिएर सरोकारवाला पक्षहरूसँग छलफल गरी पुराना नीति नियमहरू परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा हुन्छ ।,” ढकालले भने, “यसका लागि राज्यले अग्रसरता लिनुपर्छ ।”
वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताए । उनले भने “अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढवा दिनुपर्ने हुन्छ ।”
सम्बोधनकै क्रममा ढकालले, बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै, औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने सुझाव दिए ।
उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण समेत गरे ।
सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्त्वपूर्ण भएको बताए ।