राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को को अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले विजयी जुलुस निकालेका छन् । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
लिङ्देनले १ हजार ८१७ मत पाएका छन् भने थापाले १ हजार ६१७ मत पाएको राप्रपा चिर्वाचन आयोगले जनाएको छ ।
पदाधिकारीमा भने थापा पक्षको वर्चस्व छ । यद्यपि राप्रपामा सात महमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पद निर्वाचित अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।
लिङ्देनसँगै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् । महिला महामन्त्रीमा लिङ्देनको समूहबाट उम्मेदवारी दिएको नायिका रेखा थापा भने पराजित भएकी छिन् ।
बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गरेको छ ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित भएका छन् ।
पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन भएको यो पहिलोपटक हो ।